चुनावदेखि चुनावसम्म होइन, जनतादेखि जनतासम्म हेरौँ : माधव नेपाल

आइतबार, २७ भदौ, २०७८
डिजिटल संस्करण

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीभित्र अहंकारवादविरुद्ध लडनुपर्नेमा जोड दिएका छन् । अध्यक्ष नेपालले केपी ओलीप्रति संकेत गर्दै नेपालका कम्युनिस्ट पार्टीहरूमा सरकारमा पुगेपछि अहंकारको घोडा चढ्ने प्रवृत्ति मौलाएको उल्लेख गर्दै त्यसविरुद्ध लड्नुपर्ने आवश्यकता औँल्याए । 

‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको आइतबार काठमाडौंमा विमोचन गर्दै उनले नेपालको कम्युनिस्ट पार्टीभित्र आफ्ना आसेपासेहरूलाई गोलबन्द गर्ने प्रवृत्ति मौलाउँदै आएको उल्लेख गर्दै त्यस्ता कार्यलाई निस्तेज पारेर अघि बढ्नुको विकल्प नरहेको धारणा राखे ।

‘आफ्ना आसेपासेहरूलाई गोलबन्द गर्दै गैरकम्युनिस्ट प्रवृत्ति देखाइरहेको हामी हेरिरहेका छौँ । अनि सत्तामा पुगेपछि अहंकारकाे घोडा चढ्ने प्रवृत्ति पनि देखिरहेका छौँ । र, कम्युनिस्ट पार्टीभित्रैबाट यस्ता खालका गैरसर्वहारा वर्गीय चिन्तन देखिने गरेको छ । यस्ता सबै खालका गैरसर्वहारा वर्गीय चिन्तनलाई परास्त गरी जनताको मन जित्ने गरी सबै क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूले काम गर्नुपर्दछ,’ नेपालले भने । 

अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीहरूले ‘चुनावदेखि चुनावसम्म’ नभई ‘जनतादेखि जनतासम्म’को अभियान संचालन गर्नुपर्ने बताए । उनले नेपालको कम्युनिस्ट पार्टी नै सबैभन्दा लोकतान्त्रिक पार्टी भएको दाबी गर्दै ती कम्युनिस्ट पार्टीहरूले मात्रै वास्तविक रूपमा देशलाई एकताबद्ध बनाउने र मुलुकको राष्ट्रियताको रक्षा गर्ने तर्क गरे ।
 

सुझावित समाचार