विश्व विद्युतीय गाडी दिवसको उपलक्ष्य पारेर निसान कम्पनीले नेपाल, भुटान र श्रीलंकाको बजारमा विद्युतीय सवारीसाधनको सहज उपलब्ध गराउने र भविष्यमा दिगो वातावरणीय स्थिति कायम राख्ने उद्देश्यसहित भर्चुअल सेसन आयोजना गरेको छ । कम्पनीले नेपाल र भुटानमा पर्याप्त जलविद्युत्को उपलब्धताले वातावरणीय एवं आर्थिक पक्षमा दरिलो वातावरण संरक्षणको सम्भावनाको निष्कर्षसहित कार्यक्रम गरेको हो ।
कार्यक्रमको उद्देश्य यस क्षेत्रका अधिकतम जनताका लागि उपयुक्त सवारीसाधन उपलब्ध गराउने, सामाजिक–आर्थिक लाभ दिलाउने रहेको जनाइएको छ । यो कार्यक्रम दिगो पनि हुने कम्पनीले ठहर गरेको छ । कम्पनीले नेपालका लागि हालै मात्र शून्य प्रदूषणमा आधारित लिफ इभी निसान कार प्रारम्भिक चरणमा विशेष छुट मूल्यमा उपलब्ध गराएको जनाइएको छ ।
यसको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । निसान लिफ इभी विद्युतीय सवारीसाधन सन् २०१० मा उत्पादन भएको थियो । यो गाडीले समग्रमा २.५ बिलियन किलोलिटरको यात्रा तय गरिसकेको कम्पनीले जनाएको छ, जसले १.२ मिलियन टन कार्बन घटाउन मद्दत पु¥याइसकेको कम्पनीको दाबी छ । यसको तुलना नौ करोड रूखबाट पाइने अक्सिजनसँग गर्न सकिने कम्पनीको दाबी छ ।
निसान इन्डिया अप्रेसनका अध्यक्ष सिनान ओजकोकले कम मात्रामा वातावरणीय असर गर्ने सवारीसाधन उपलब्ध गराएर ग्राहकको जीवनस्तर उठाउने उद्देश्य रहेको बताए । त्यसैको सन्दर्भमा शून्य प्रदूषणमा आधारित निसान लिफ दक्षिण एसियाको बजारमा उपलब्ध गराउन लागिएको उनको भनाइ थियो । शून्य प्रदूषणयुक्त निसान लिफ इभी निसानको मौलिक र गुणस्तरयुक्त सवारीसाधन रहेको कम्पनीको दाबी छ ।
यो गाडी ७.९ सेकेन्डमा एक सय किमि प्रतिघन्टाका दरले गुड्न सक्ने तथा टप स्पिड एक सय ४० किमि प्रतिघन्टा रहेको कम्पनीको दाबी छ । निसानको साउथ एसिया बिजनेस युनिटका निर्यात प्रमुख रधुनाथ नायरले समुदायमा गतिशीलता प्रदान गर्न निसान लिफ इभी अति उपयोगी भएको र कम्पनीले दक्षिण एसियाको बजारमा विशेष रूपमा यसको बजार प्रवद्र्धन गरिरहेको बताए ।
विश्वका सरकारहरू वातावरणप्रति सचेत रहेका तथा कार्बन उत्सर्जनविरुद्ध कसरी दिगो प्रयत्न गर्न सकिन्छ भन्नेमा सक्रिय रहेका कारण सबै मुलुकको वातावरण हरियालीयुक्त होस् भन्ने धारणालाई कम्पनीले सघाएको उनको भनाइ थियो । पायोनियर मोटो कर्प प्रालिका प्रबन्ध निर्देशक सन्दीपकुमार सारडाले यो गाडी विद्युतीय स्टेसनमा चार्ज गर्न सजिलो रहेको र ग्राहकले विभिन्न ठाउँमा चार्ज गर्ने सुविधा पाउने बताए ।