राखेपका पूर्वसदस्यसचिव राणाको निधन

शनिबार, २६ भदौ, २०७८
डिजिटल संस्करण

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्यसचिव एवं पूर्वराजदूत रुक्मशमशेर राणाको निधन भएको छ। उनको गए राति ८५ वर्षको उमेरमा आफ्नै निवास काठमाडौं बत्तीसपुतलीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

राणा मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । मिर्गौला प्रत्यारोपणपछि उनले नियमित रूपमा डाइलासिस गराउँदै आएका थिए ।

उनले राखेपको दुईपटक सदस्यसचिवको भूमिका निर्वाह गरेका थिए । उनी पहिलोपटक वि.सं २०५० देखि २०५१ सम्म तथा दोस्रोपटक वि.सं २०५४ देखि २०५५ सम्म राखेपको सदस्यसचिव रहेका थिए । राणा वि.सं २०५९ मा नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्षसमेत बनेका थिए। एनओसीले पछिल्लो समय राणालाई सम्मानस्वरूप मानार्थ अध्यक्ष बनाएको थियो ।

राणाले अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यवाहक अध्यक्षका रूपमा समेत भूमिका निर्वाह गरेका थिए भने नेपाल तेक्वान्दो संघ र नेपाल एथलेटिक्स संघको समेत अध्यक्ष रहेका थिए । नेपाली कांग्रेसका संस्थापक नेता सुवर्णशम्शेर राणाका कान्छा छोरा उनी कांग्रेस नेतृत्वको सरकारको पालामा सन् २००९ देखि सन् २०११ सम्म भारतका लागि नेपाली राजदूतसमेत भएका थिए ।

राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार एवं प्रबन्ध निर्देशकसमेत थिए । उनको आज शनिबार नै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

See More On

सुझावित समाचार