मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड सञ्चालनमा आउन अझै तीन दिन लाग्ने

मंगलबार, २२ भदौ, २०७८
डिजिटल संस्करण

वर्षाका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड सञ्चालनमा ल्याउन कम्तीमा तीन दिन लाग्ने भएको छ । सडक लामो समयसम्म अवरुद्ध भएपछि पर्वतलगायत बागलुङ, म्याग्दी र मुस्ताङका नागरिकलाई सास्ती भएको छ ।

पर्वतको कुश्मा नगरपालिका–७ खरेहादेखि मोदी गाउँपालिका–२ देउपुर पातिचौरसम्मको मध्यपहाडी लोकमार्गको सडकखण्ड पहिरोले क्षतविक्षत भएपछि सर्वसाधारणलाई समस्या भएको छ । १७ भदौ राति पर्वतमा ११ जनाको ज्यान जाने गरी भीषण वर्षापछि आएको पहिरोले मध्यपहाडी लोकमार्गको करिब २० किलोमिटर सडकखण्ड अवरुद्ध भएको हो ।

सडक अबरुद्ध भएपछि पैदल यात्रा गर्दै सर्वसाधारण

सडक अवरुद्ध भएपछि पर्वतको कुश्मा नगरपालिका–८ चुवादेखि मोदी गाउँपालिका–२ देउपुरसम्मको करिब १० किलोमिटर सडक हिँडेरै पार गर्नुपर्ने अवस्था आएको छ । सडक सञ्चालनका लागि मध्यपहाडी लोकमार्ग आयोजनाले आठवटा उपकरण सडकमा धमाधम पहिरो पन्छाउन लगाए पनि अझै तीन दिन लाग्न सक्ने आयोजनाका सबइन्जिनियर महम्मत सलाम उल्लाले बताए ।

सुझावित समाचार