डोल्पामा ४१ जनाले गरे एकीकृत समाजवादीको पक्षमा सनाखत

सोमबार, २१ भदौ, २०७८
डिजिटल संस्करण

हिमाली जिल्ला डोल्पामा एमाले छोडेर ४१ जनाले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन्। नेकपा एमाले परित्याग गरी एकीकृत समाजवादीमा जिल्लामा ४१ जनाले सामूहिक रूपमा जिल्ला निर्वाचन कार्यालयमा पुगेर हस्ताक्षर गरेका हुन्। 

कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको नेतृत्वमा स्थानीय तहका जनप्रतिनिधिले निर्वाचन कार्यालयमा पुगेर हस्ताक्षर गरेका हुन्। एमाले परित्याग गर्नेमा सबैभन्दा धेरै ठूलीभेरी नगरपालिकाका जनप्रतिनिधि रहेका छन्।

ठूलीभेरी नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाहीसहित आठवटा वडाध्यक्ष, चारजना जिल्ला समन्वय समितिका सदस्य, १० जना वडा सदस्य, महिला सदस्य सातजना, दलित महिला सदस्य ६ जना र कार्यपालिका सदस्य पाँच गरी जम्मा ४१ जनाले हस्ताक्षर गरेको निमित्त जिल्ला निर्वाचन अधिकारी श्यामकुमार राईले  जानकारी दिए। 

जनप्रतिनिधि र कार्यकर्ताहरू हस्ताक्षरका लागि नारा–जुलुस गर्दै जिल्ला निर्वाचनमा कार्यालयमा पुगेका थिए। नेकपा एमालेको नेतृत्वले धोका दिएकाले समाजवादी रोज्नुपरेको ठूलीभेरी नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाहीले बताए।

जिल्ला निर्वाचन कार्यालयमा समाजवादीमा हस्ताक्षर गर्नेमा ठूलीभेरी नगरपालिकाका ३६ जना, जगदुल्ला गाउँपालिकाका तीनजना, मुड्केचुला गाउँपालिकाका एकजना र त्रिपुरासुन्दरी नगरपालिकाका एकजना रहेकको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लामा कार्यकर्ताको उत्साह दिनप्रतिदिन बडिरहेकाले निर्वाचन आयोगको समयसीमा २२ गतेसम्म जनप्रतिनिधिहरू थप हुनेमा विश्वस्त रहेको मन्त्री बुढाको दाबी छ। 

अहिले पनि जिल्लामा ठूलो पार्टी एकीकृत समाजवादी नै भएको दाबी गर्दै कार्यालय स्थापनासँगै संगठन विस्तार तीव्र रूपमा अघि बढ्ने मन्त्री बुढाले बताए।

मौसम बिग्रेर जहाज नउडेपछि नेपालगन्जबाट हेलिकाेप्टर चार्टर गरेर मन्त्री बुढा डोल्पा पुगेका हुन्। नेकपा एमाले डोल्पाका संस्थापक नेता एवं केन्द्रीय सदस्य हंशबहादुर शाही र डोल्पाली राजनीतिमा चर्चित धनबहादुर बुढासमेत एकीकृत पार्टीमा रहेकोले समाजवादी नै ठूलो पार्टी रहेको नेता–कार्यकर्ताको दाबी छ।
 

सुझावित समाचार