गत शनिबार नेपाल स्काउटले सर्लाहीका विभिन्न पालिकाका प्रमुख एवं उपप्रमुखहरूलाई दीक्षान्त गराई पद तथा गोपनीयताको शपथ गरायो।
जिल्लाको हरिवनस्थित सम्राट होटेल एन्ड पार्टी प्यालेसमा आयोजित कार्यक्रमबीच पालिका प्रमुखहरूले स्थानीय स्काउट समितिको संरक्षक, उपप्रमुखहरूले प्रमुख स्काउट सदस्य र शिक्षा शाखाका प्रमुखहरूले सदस्यसचिवको रूपमा दीक्षित भई पद तथा गोपनीयताको शपथ लिए। नेपाल स्काउटबाट दीक्षित भई हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईंले पनि पद तथा गोपनीयताको शपथ लिए। त्यसलगत्तै मेयर प्रसाईंले स्काउटकै पोसाकमा सजिएर पार्टीको कार्यक्रमलाई सम्बोधन गरेको भिडियोले यतिखेर सामाजिक सञ्जालमा चर्चा पाएको छ।
उनी स्काउटको पोसाकको ख्यालै नगरी पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न पुगेका थिए। हरिवन नगरपालिकास्थित वनबाटिकामा नेकपा एमालेले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी त्यहाँ पुगेका थिए। भेलालाई सम्बोधन गर्नपुगेका मेयर प्रसाईंलाई स्काउटको पोसाकमा सजिएको देखेपछि केहीले अचम्म मानेर हेरिरहेका थिए। लगत्तै उनले भेलालाई सम्बोधन गर्न सुरु गरे। उनी नेकपा एमालेबाट निर्वाचित मेयर हुन्।
नेपाल स्काउट कुनै राजनीतिक आस्था नराखी कुनै पनि पार्टीपंक्तिबाट टाडा रहेर हरेक व्यक्ति र समुदायप्रति सेवाभाव राख्दै परिचालित हुने समूह हो। उनीहरू मुख्यतया दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार तथा सहायता कार्यमा परिचालित हुने, सामुदायिक सेवा तथा जनहितसम्बन्धी कार्यमा सरिक हुने, समाजका हरेक वर्ग तथा समूहलाई शिक्षित पार्न प्रौढ शिक्षालगायत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने, स्वास्थ्य, वातावरण, भूसंरक्षण तथा प्राकृतिक स्राेतको उपयोगसम्बन्धी विभिन्न जनउपयोगी कार्यक्रम सञ्चालन गर्न युवा जनशक्ति परिचालन गर्ने गर्दछन्।