दार्चुला घटनाको दोषीमाथि कारबाहीको अनुरोध गर्दै भारतलाई पत्र लेख्दै सरकार

परारष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा सोमबार पत्र पठाउने तयारी

सोमबार, २१ भदौ, २०७८
डिजिटल संस्करण

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा दार्चुलाका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको विषयमा सरकारले भारत सरकारलाई पत्र लेख्ने भएको छ । गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा गठित छानबिन टोलीले तयार पारेको प्रतिवेदनका आधारमा समस्या समाधानका लागि अनुरोध गर्दै भारत सरकारलाई परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाउन लागिएको हो ।

परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा सोमबार उक्त पत्र पठाउने गरी मन्त्रालयले तयारी गरिसकेको छ । घटनाबारे गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन समितिले तयार पारेर सरकारलाई बुझाएको प्रतिवेदनका आधारमा पत्र पठाउने गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो । 

‘सरकारले दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनामा अध्ययन गर्न गठित छानबिन समितिको सिफारिसअनुसार भारतलाई पत्र लेख्ने तयारी गरेको छ,’ स्रोतले भन्यो, ‘आइतबार पत्रको मस्यौदा तयार पारिएको छ । समस्या समाधानका विषयमा समितिले गरेको सिफारिसअनुसार नै भारतीय पक्षले पनि चासो लिएर दोषीलाई कारबाही गर्न अनुरोधसहितको पत्र तयार हुँदै छ । निर्देशनअनुसार काम अघि बढिसकेको छ । सोमबारसम्म पत्र पठाइसक्ने तयारी भइरहेको छ ।’ 

घटनाबारे छानबिन गर्न गठित गृह मन्त्रालयको समितिले धामी बेपत्ता घटना एसएसबीको उपस्थितिमै घटेको देखिएको भन्दै उनीहरूमाथि अनुसन्धानका लागि कूटनीतिक पहल गर्न सिफारिस गरेको थियो । समितिले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएपछि गृह मन्त्रालयले १७ भदौमा भारतसँग यस विषयमा कूटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको थियो । त्यसैका आधारमा परराष्ट्र मन्त्रालयले भारत सरकारलाई पत्र लेख्न लागेको स्रोतको दाबी छ । घटनालाई लिएर राजनीतिक र कूटनीतिक रूपमा पहल नगरेको भन्दै चौतर्फी आलोचना खेपिरहेको सरकारले पत्राचार गर्न खोजेको हो । 

गत १५ साउनमा दार्चुलाको व्याँस गाउँपालिकाका जयसिंह धामी सोही गाउँपालिकामा पर्ने मालघाटबाट तुइनको प्रयोग गरी भारततर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा तुइनको तारसँगै महाकाली नदीमा बेपत्ता भएका थिए । घटनापछि १७ साउनमा मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव गौतमको नेतृत्वमा सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेर प्रतिवेदन बुझाउन दश दिनको समय दिएको थियो । 

तर, १५ भदौमा मात्रै सरकारलाई बुझाएको प्रतिवेदनमा समितिले धामी बेपत्तामा एसएसबीकै संलग्नता रहेको र दोषीलाई कडा कारबाही गर्न सिफारिस गरेको थियो । प्रतिवेदनमा छ, ‘उक्त घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकाले निजहरूको संलग्नता सम्बन्धमा अनुुसन्धान गरी दोषीउपर कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको छ ।’ 

दार्चुलाको व्याँस गाउँपालिका– २ का ३३ वर्षीय धामी हालसम्म बेपत्ता छन् । बेपत्ता भएपछि उनको खोजी गरिए पनि भेटिएका छैनन् । स्थानीय प्रत्यक्षदर्शीका अनुसार महाकाली नदी तर्न लाग्दा एसएसबीले तुइन काटिदिएपछि उनी महाकालीको भेलसँगै बगेका थिए । भारतीय पक्षले भने दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर सो घटनामा एसएसबीको संलग्नता नरहेको स्पष्टीकरण दिएको थियो । बेपत्ता भएका धामीका परिवार र दार्चुलाका स्थानीयले एसएसबीले तुइन काटेका कारण घटना घटेको बताउँदै आएका छन् । सरकारले धामी परिवारलाई दश लाख राहत दिएको छ । 

तर, गत साता मात्रै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले यस विषयमा भारतलाई औपचारिक जानकारी नभएको बताएका थिए । ‘हामीलाई यस विषयमा कुनै जानकारी आएको छैन । मैले मिडिया रिपोर्टहरूमा यस विषयमा सुनेको छु, तर छानबिन भएको विषयमा हामीलाई कुनै सूचना छैन,’ बाग्चीले भनेका थिए । सरकाले धामी बेपत्ता भएको घटनामा भारतसँग जवाफ माग गर्न नसकेको भन्दै आलोचना भइरहेका वेलामा भारतीय हेलिकोप्टर विनाअनुमति दार्चुलाकै नेपाली भू–भागमा उडाइएको विषय सार्वजनिक भएको छ ।
 

सुझावित समाचार