स्वास्थ्य संरचनालाई बलियो र प्रभावकारी बनाउने उद्देश्यले आगामी असोज पहिलो साता ‘एनएमए नेसनल हेल्थ समिट २०२१’को आयोजना गरिने भएको छ । नेपाल चिकित्सक संघले कोरोना महामारीमा थलिएको स्वास्थ्य क्षेत्रमा भोगेका र सिकेका विषयमाथि छलफल गरी आगामी दिनमा महामारीसम्बन्धी आवश्यक नीति र स्वास्थ्य पूर्वाधार तयार गर्न टेवा पुर्याउने उद्देश्यले समिट आयोजना गर्न लागेको जनाएको छ ।
आगामी ९ असोजमा हुने कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले राय सुझाब दिनेछन् । ती सुझाबलाई नीति निर्माणमा समाहित गराएर अगाडि बढ्ने संघका अध्यक्ष डा.लोचन कार्कीले बताए । नेपालमा स्वास्थ्य क्षेत्र अहिले नै संघीय संरचनामा जानु उपयुक्त थियो थिएन भन्ने विषयमा समेत बृहत् छलफल हुने उनको भनाइ छ ।
संघीयताकै कारण कोरोना महामारीको समयमा स्वास्थ्यको भूमिका निकै कमजोर देखिएको चिकित्सकहरूले बताएका छन् । चिकित्सक संघले देशको स्वास्थ्य अवस्था र आगामी चुनौतीका विषयमा पनि गहन अध्ययन–अनुसन्धान गर्ने भएको छ । ‘चिकित्सक संघले चिकित्सकका हकहितमा मात्रै लड्दै आएको थियो,’ कार्कीले भने, ‘अब नयाँ–नयाँ रोगहरूको जोखिमलाई मध्यनजर गर्दै फरक अध्ययन–अनुसन्धानमा समेत लाग्नुपर्ने भएकाले यो समिट त्यसतर्फ केन्द्रित हुनेछ ।’ उनले प्रादेशिक संरचनामा स्वास्थ्य क्षेत्रमा जान ठिक छ छैन भन्ने विषयमा समेत व्यापक छलफल हुने बताए । अहिले नै स्रोतसाधनले धान्न कठिन देखिएकाले स्वास्थ्यको सबै जिम्मा प्रदेश र स्थानीय तहमा दिनु उपयुक्त नहुने अधिकारीहरूले बताएका छन् ।
चिकित्सक संघले सम्मेलनका लागि संघका पूर्वअध्यक्ष केदारनरसिंह केसी अध्यक्ष र डा.अञ्जनीकुमार झा सहअध्यक्ष रहेको आयोजक समिति साथै डा.कुसुम थापाको संयोजकत्वमा वैज्ञानिक समिति बनाएको छ । संघका महासचिव डा.बद्री रिजालले समिटका लागि गठित आयोजक समितिले शैक्षिक गतिविधि तयार गरी आवश्यक कार्य तीव्रताका साथ अगाडि बढाइरहेको जानकारी दिए । उनका अनुसार सम्मेलनका लागि पाँचवटा छलफलका मुख्य विषय छानिएका छन् । जसमा स्वास्थ्यमा सुशासन र नेतृत्व, मानव संसाधन र सेवा प्रवाह, कोभिड–१९ खोप र नेपाल सरकारको रणनीति, महामारीमा बहुपक्षीय समन्वय, अवसर, चुनौती र सिकाइ, महामारीमा सेवा प्रवाह र आविष्कार मुख्य विषय छन् ।