मानिसलाई आफैँ पहल गर्न होइन, पर्खन सिकाउँछन् । धर्मले यही भाष्यलाई आफ्नो मूल अस्त्र बनाएको छ,– पर्खनुपर्छ, अपराधीले सजाय एक दिन पाउनेछ । ‘मनी हाइस्ट’को नयाँ सिजन पनि यो किसिमको भाष्यबाट अलग छैन । उही सेटेड फर्मुलाभित्र रहेर कथालाई तन्काइएको छ ।
आख्यानको एउटा स्वभाव हुन्छ, यो कहिल्यै सीधा बाटोमा हिँड्दैन । अनेक उतारचढाव र आरोह–अवरोहको छेउकुना गर्दै गन्तव्यसम्म पुग्छ । सुरुवातमा हिउँको थुप्रोजस्तो हुन्छ आख्यान । र पग्लन सुरु गर्छ । जब त्यो पग्लन थाल्छ, त्यसले खोला, छाँगा, नहर, फाँट, नदी हुँदै समुद्रको यात्रा तय गर्छ । कतिपय सर्जकले समुद्र पुर्याउन ढिला गर्छन्, कतिपय सर्जकले अनावश्यक रूपमा छिटो गर्छन् ।
पाठक, दर्शकको पनि एक खालको स्वभाव हुन्छ, उनीहरू आख्यानको अन्त्य पर्खिरहेका हुन्छन् । तर, सबैभन्दा मजा भने बीचमा लिन्छन् । पात्रहरूको अनेक लयहरूमा बग्छन्, उनीहरूको रङहरूमा मिसिन्छन् । पात्रहरूको हाँसो र आँसुसँग रङमङिन्छन् । पात्रहरूको बोधमा थिग्रिन्छन् । अन्त्य स्वाभाविक छ, राम्रो आख्यानको अन्त्य अस्वाभाविक र अप्रत्याशित हुनेछ ।
दर्शकको निकै लामो प्रतीक्षापछि ‘मनी हाइस्ट’ सिरिजको पाँचौँ सिजनको पहिलो भाग सार्वजनिक भयो । यो सिजनप्रति दर्शकको व्यग्र पर्खाइ थियो, त्यो ३ सेम्टेम्बरमा पूरा भयो । पाँच सिजनसम्म आइपुग्दा बर्लिन, टोक्यो, नैरोबी, रियो, प्रोफेसरलगायत पात्रहरूसँगै दर्शक बाँचे, हाँसे, रोए र डराए । कतिपय पात्रमा आफूलाई भेटे, त्यही पात्रलाई प्रेम गरे । कतिपय पात्रमा आफूलाई भेटेनन्, ती पात्रलाई घृणा दिए, सहानुभूति पनि दिए ।
मनोरञ्जनको उत्कृष्ट प्याकेज
बैंक लुटेराको कथामा बनेको यस सिरिज पहिला एन्टेना ३ च्यानलबाट स्पेनमा मात्रै प्रदर्शन भए पनि नेटफ्लिक्सबाट प्रदर्शन भएपछि संसारभरिका दर्शकको प्रिय सिरिज बन्यो । मूल स्पेनिस भाषाको यो सिरिज अंग्रेजी भाषामा डबिङ भएर आएपछि यति प्रख्यात भयो कि मेकर र निर्माताले तन्काएर पाँचौँ सिजनमा ल्याइपुु¥याए । यसको विषेशता भनेकै प्रत्येक शृंखलामा सस्पेन्स, एक्सन, प्रेम, घृणा, भावना र आइडिया हुनु हो । अर्थात् मनोरञ्जनको उत्कृष्ट प्याकेज हो ।
अन्तिम सिजनको पहिलो भागका पाँच शृंखलामा पनि ती पाटा छन्, जो अघिल्ला सिजनमा थिए । एकातिर प्रोफेसर र बैंक अफ स्पेनको सुन लुट्न छिरेको उसको टिम छ, अर्कातिर सिंगो राज्य उनीहरूको विरुद्ध छ । त्यसमा थप तनाव थपिएको छ, पूर्वप्रहरी एलिसिया सिएरा, जसले क्रुर प्रहरी अफिसरको परिचय बनाएकी थिइन् । भलै उनैलाई पक्रन प्रहरी लागिपरेको छ । पाँचौँ सिजनको कथा यहीँबाट सुरु हुन्छ, प्रोफेसरको गुप्त अपरेसन कोठामा पुगेकी छिन् एलिसिया । प्रोफेसरको कन्चटमा पेस्तोल राख्दै मानिसहरूले आफूलाई क्रुर भन्नुको पछि प्रोफेसरकै हात रहेको बताउँदै धन्यवाद दिइिरहेकी छिन् ।
प्रोफेसर र एलिसियाको लडाइँ बैंक अफ स्पेनको सुन जोगाउने र लुट्ने विषयमा मात्रै छैन । उनीहरूको अहंको लडाइँ पनि जोडिएको छ । दुवैले आफूलाई आफ्नो स्थानमा उत्कृष्ट सोच्नाले कथा जटिल बन्दै गइरहेको छ । त्यसको असर बैंकभित्र रहेका प्रोफेसरको समूहका सदस्यलाई परिसकेको छ । बैंकभित्र उनीहरू आशाविहीनतामा बाँचिरहेका हुन्छन् । यता बैंकको छतबाट गान्धियाको टोली छिरिसकेको छ । प्रोफेसर र एलिसियाको अहंको लडाइँ, उता गान्धियाको क्रुरता र लुटेरा सदस्यहरूबीच उभिएको जीवन–मृत्युको दोसाँध । यहीँ देखिने इमोसन, एक्सन, थ्रिल र सस्पेन्स । पाँचौँ सिजनको पहिलो भागको सरदर कथा यही हो ।
दर्शकको सदासयता सकारात्मक पात्रहरूमै हुन्छ । तर, नकारात्मक पात्रहरू बलशाली हुँदै गए भने ? दर्शक तनावमा जान्छन्, आफ्नो प्रिय पात्रहरूको जितको कामना गर्छन्, सहानुभूति राख्छन् । तर, मेकर जहिल्यै दर्शकको इमोसनलमाथि खेलिरहन्छ । दर्शकको प्रिय पात्रहरू जो छन्, उनीहरूलाई झनै दुःख र अप्ठ्यारोमा पारिदिन्छन् । सिनेमाको परम्परागत यो सूत्र मूलधारका सिनेमामा ज्यादाजसो देखिने गर्छन् । पछिल्लो समय वेब सिरिजको लहर आएसँगै यो सूत्र झनै बलशाली हुँदै गएको छ ।
सेटेड : फर्मुलाभित्रको कथा
कुनै उद्देश्य प्राप्तिका लागि पात्रले ठूलो संघर्ष गर्नुपर्छ । यात्रामा उसले अप्रत्याशित, अनौठा र समाधान नै नहुने अप्ठ्याराहरूलाई पन्छाउनुपर्छ । तर, उसले जसरी पनि पन्छाएरै अगाडि बढ्छ र गन्तव्यसम्म पुगेरै छाड्छ । मूलधारका सिनेमाले दर्शकमा छरिदिएको यो पूर्वनिर्धारित भाष्य हो । यसैको वरिपरि रहेर सिनेमाहरू आइरहेका छन्, अझै आइरहने नै छन् । यही भाष्यका कारण दर्शक हिरो खोजेर बस्छन्, मुक्तिदाता खोजेर बस्छन् ।
मानिसलाई आफैँ पहल गर्न होइन, पर्खन सिकाउँछन् । धर्मले यही भाष्यलाई आफ्नो मूल अस्त्र बनाएको छ,– पर्खनुपर्छ, अपराधीले सजाय एक दिन पाउनेछ । ‘मनी हाइस्ट’को नयाँ सिजन पनि यो किसिमको भाष्यबाट अलग छैन । उही सेटेड फर्मुलाभित्र रहेर कथालाई तन्काइएको छ । तर, ‘मनी हाइस्ट’को मात्रै होइन, अहिले जति पनि पपुलर सिरिजहरू छन्, उनीहरूको सूत्र पनि उस्तै हो, परम्परागत मूलधारे सूत्र ! तर, अबदुल कलामको एक भनाइ छ, ‘पर्खनेले त्यति मात्रै पाउँछन्, जति प्रयत्न गर्नेले छाडेका हुन्छन् ।’
मूलधारको सिने–सूत्रबाट अब सिनेमा बाहिर निस्कनुपर्छ भनेर बहस भइरहेको छ । तर, बाहिर निस्कने उत्तम वैकल्पिक बाटो कुन हुन सक्ला ! प्रयोग भइरहेकै छ, प्रयत्न भइरहेकै छन् । कथा भन्नका लागि स्थानिकता, मौलिकता, विश्वास पद्धति, जीवनको लयलाई टिपेर आउने मेकर पनि कम छैनन् । तर, मूलधारे सूत्रलाई नै पक्रेर बनाइएको ‘मनी हाइस्ट’ अथवा अन्य सबै सिरिजको दुःख भनेकै दर्शकको भावनासँग खेलेर त्यसको फाइदा उठाउनु हो ।
तैपनि ‘मनी हाइस्ट’मा प्रोफेसरको इगो, बदलाको भावना र उत्कृष्ट दिमागले मनोरञ्जन दिन्छ नै । यसको इडिया, मेकिङ र कथा भन्ने टेक्निकले तान्छ नै । पाँचाँै सिजनमा पनि डिटेलिङ छ, मिहिनेत छ । डार्क म्युजिकको मजा छ, कलरिङले दृश्यहरूलाई स्वादिलो बनाएको छ । एलेक्स पिनाको मिहिनेत, स्क्रिन प्ले र उनको दिमागले सोचेको आइडिया सानदार छ । थप जिसस कोल्मेनारको निर्देशकीय मिहिनेत छ । एकदमै चलाखीपूर्ण स्क्रिप्ट लेखनले नयाँ सिजनलाई गजबको बनाएको छ । जसरी कथालाई उठाइएको छ, ब्याक स्टोरीमा जसरी काम गरिएको छ, जसरी सस्पेन्सहरू सिर्जना गरिएको छ, त्यसले दर्शकलाई चार घन्टा बाँधेर राख्न सक्षम छ ।