अफगानिस्तानबारे भारत र बेलायतका विदेशमन्त्रीबीच छलफल

आइतबार, २० भदौ, २०७८
डिजिटल संस्करण

भारत र बेलायतबीच अफगानिस्तानको परिस्थितिबारे सघन छलफल भइरहेको छ। भारतीय विदेशमन्त्री डा. एस जयशंकरले एक सातामा दुईपटक बेलायतका समकक्षी डोमिनिक रावसँग छलफल गरेका छन्। यो एक साताभित्र भएको दोस्रो छलफल हो।

अफगानिस्तानमा तालिवानले कब्जा जमाएपछि विश्वका ठूला मुलुकहरूबीच छलफल भइरहेको छ। अफगानिस्तानमा भारतको सामाजिक र आर्थिक क्षेत्रमा ठूलो लगानी छ। तालिवान आएसँगै भारतीय लगानीको भविष्यबारे चिन्ता बढिरहेको छ। काबुलबाट केही भारतीय नागरिकको उद्धार गर्न पनि बाँकी छ। बेलायती समकक्षीसँग अफगानिस्तानको पछिल्लो अवस्थाबारे छलफल भएको जयशंकरले ट्विटरमा उल्लेख गरेका छन्। 

जयशंकरले गत साता ओमानका समकक्षी सैयिद बदर अल बुसाइदीसँग पनि छलफल गरेका छन्। भारतले अफगानिस्तानको घटनाक्रमलाई नजिकबाट नियालिरहेको र गत साता कतारका लागि भारतीय राजदूत दीपक मित्तलले वरिष्ठ तालिवान नेताहरूसँग छलफल गरेको इन्डिया टुडेले जनाएको छ। दोहामा भारतीय राजदूत मित्तलले तालिवानका नेता मोहम्मद अब्बास स्तानेक्जाईसँग भेटेका थिए । त्यो भारत र तालिवानबीच पहिलो औपचारिक र सार्वजनिक जानकारीमा आएको भेटवार्ता थियो।

सुझावित समाचार