पिपुल्स हाइड्रोपावरले ५७ मेगावाटको हिमचुली दोर्दी निर्माण गर्ने

आइतबार, २० भदौ, २०७८
डिजिटल संस्करण

दोर्दी खोलामा ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ निर्माण गरिरहेको पिपुल्स हाइड्रोपावरले ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत् निर्माण गर्ने भएको छ । दोर्दी खोलामा पहिचान भएको आयोजना अध्ययन पूरा भएर उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

विभागका अनुसार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन र आयोजनाको अध्ययन रिपोर्टका आधारमा प्रवद्र्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको छ । आयोजनाको मुख्य संरचना इलेप खोलाको बायाँ किनारमा पर्छ ।

दोर्दी खोलामा बाँध बाँधी ४.२ किलोमिटर लामो सुरुङमार्फत पानीलाई भूमिगत विद्युत्गृहमा पुर्याइनेछ । विद्युत्गृहमा जडित दुईवटा टर्बाइन र दुईवटा जेनेरेटरमार्फत विद्युत् उत्पादन गरिनेछ ।

विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकूल असरका बारेमा सम्बन्धित सरोकारवालासँग राय–सुझाब मागेको छ । आयोजनाबाट उत्पादन भएको विद्युत् १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत ६ किलोमिटर दूरीमा रहेको सुपर दोर्दी ‘ख’ को विद्युत्गृहमा पुर्याइनेछ । दुवै आयोेजनाको विद्युत् नेपाल विद्युत् प्राधिकरणको दोर्दी करिडोरको सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिनेछ । 

सुझावित समाचार