अझै उठेन काठमाडौंका मुख्य चोकको फोहाेर

शनिबार, १९ भदौ, २०७८
डिजिटल संस्करण

चार दिनदेखि काठमाडौंका फोहाेर उठ्न थाले पनि मुख्यमुख्य चोक भने अझै पनि सफा हुन सकेको छैन। १८ दिनदेखि व्यवस्थापन हुन नसकेको फोहाेर गत बुधबारदेखि उठाउन थाले पनि कलंकी, कालीमाटी, खसीबजारलगायत सडक किनारामा फोहाेरको डंगुर अझै उस्तै छ ।

काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहाेर गत साउन ३२ गतेदेखि उठ्न सकेको थिएन। लामो समयदेखि फोहाेर संकलन भएर बसेकाले सबै एकैपटक व्यवस्थापन हुन नसकेको काठमाडौं महानगरपालिकाको भनाइ छ। आगामी तीन दिनभित्रमा यसअघि जम्मा भएर बसेका सबै फोहाेर सिसडोल लगिने कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताए ।

“अहिले साबिकअनुसार नै फोहाेर व्यवस्थापनको काम भइरहको छ । धेरै दिनको संकलित फोहाेर एकैपटक व्यवस्थापन गर्नुपर्ने भएकाले केही ढिला भएको हो, अहिले नियमित रूपमा फोहाेर उठिरहेको छ”, प्रमुख श्रेष्ठले भने। १८ दिनको अवधिमा करिब १५ हजार मेट्रिकटन फोहाेर जम्मा भएको बताइएको छ ।  

गत मंगलबार कामपा प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको बैठकले फोहाेर उठाउने निर्णय गरेको थियो। कामपाले गत साउन ३२ गतेदेखि नै सार्वजनिक सूचना जारी गरेर नगरवासीलाई घरबाहिर फोहाेर ननिकाल्न आग्रह गरेको थियो ।सूचना सार्वजनिक भएको १८ दिनपछि फोहाेर व्यवस्थापनको काम सुरु भएको हो । 

सिसडोलमा विसं २०६२ मा दुई वर्षको फोहाेर व्यवस्थापन गर्न सकिने क्षमताको ल्याण्डफिल्ड साइट निर्माण गरिएको    थियो । तर, पटकपटक त्यसैमा माटोले पुर्दै केही विस्तार गरेर अहिलेसम्म नै फोहाेर व्यवस्थापन गरिँदै आइएको छ। उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिकटन फोहाेर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। यसमध्ये सबैभन्दा बढी कामपाबाट ५०० मेट्रिकटन फोहाेर निस्किने गर्दछ ।

हाल फोहाेर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहाेर व्यवस्थापनस्थल निर्माण गरिएको छ। निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्छ। १६ वर्षदेखि नुवाकोटको सिसडोलमा उपत्यकाको १८ स्थानीय तहको फोहाेर विसर्जन गरिँदै आइएको छ। काठमाडौं उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहाेरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।  रासस

See More On

सुझावित समाचार