निर्वाचनअगावै मनाङमा सर्वसम्मत जिल्ला नेतृत्व चयन
पाँचपटकसम्म कार्यतालिका परिवर्तनपछि कांग्रेसको १४औँ महाधिवेशन शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ । पहिलो दिन ४१ जिल्लामा वडा अधिवेशन सकिएको छ ।
शुक्रबार ५६ जिल्लाका वडाको अधिवेशन सक्ने तयारी गरेकोमा १५ जिल्लामा प्राकृतिक विपत् र अन्य कारणले रोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बाँकी २१ जिल्लामा भने क्रियाशील सदस्यता टुंगो लाग्नै बाँकी रहेकाले निर्वाचन प्रक्रिया सुरु हुन सकेको छैन । राजधानी काठमाडौंकै वडाहरूमा क्रियाशील सदस्यता विवाद टुंगिएको छैन । बागमती प्रदेशकै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र रसुवामा पनि सदस्यता विवाद छ । क्रियाशील सदस्यता टुंगो नलाग्ने जिल्लामा प्रदेश २ का आठवटै छन् ।
केन्द्रीय निर्वाचन समिति संयोजक महादेव यादवले ७७ वटै जिल्लामा निर्वाचन तयारी सकिएको बताए । ‘शुक्रबार हुन नसकेका १५ जिल्लामा अधिवेशनले निरन्तरता पाउँछ,’ उनले भने, ‘२१ जिल्लामा क्रियाशील सदस्यता टुंगो लागेर विवरण पाएको तीन दिनमै निर्वाचन सम्पन्न हुन्छ ।’
निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले शुक्रबार हुन नसकेका १५ मध्ये ११ जिल्लामा २१ भदौका लागि निर्वाचन तय भएको र चार जिल्लामा २३ भदौभित्र वडा अधिवेशन सम्पन्न हुने बताए । ‘२७ भदौका लागि तय भएको स्थानीय तहको अधिवेशनअगाडि नै सबै वडामा निर्वाचन भइसक्छ,’ उनले भने ।
मनाङ कांग्रेसले भने जिल्ला अधिवेशन सुरु हुनुपूर्व नै सर्वसम्मत नेतृत्व चयन गरिसकेको छ । शंकर गुरुङलाई सभापतिमा चयन गरेको हो । मनाङको जिल्ला अधिवेशन १ असोजका लागि तय भएको छ । आगामी कार्यकालको नयाँ नेतृत्व टुंग्याएको जिल्ला सचिव सुरेन्द्र गुरुङले बताए । जिल्ला सभापतिसहित संघ तथा प्रदेशका लागि प्रतिनिधि, जिल्ला पदाधिकारी, क्षेत्रीय कार्यसमिति र स्थानीय तहमा समेत सहमतिमै नयाँ नेतृत्व चयन गरिएको कांग्रेस मनाङका वर्तमान सभापति टेकबहादुर गुरुङले बताए ।
पौडेल र महतले भने– महाधिवेशन सुनिश्चित भयो

वडा अधिवेशन सुरु भएसँगै कांग्रेसका दुवै पक्षले महाधिवेशन सुनिश्चित भएको बताएका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औँ महाधिवेशन अब कसैले रोक्न नसक्ने बताए ।
‘वडा अधिवेशन सुरु भएपछि अब १४औँ महाधिवेशन सुनिश्चित भएको छ । सबै जिल्ला र क्षेत्रबाट प्रतिनिधि चुनिएर आउने भएपछि महाधिवेशन कसैले रोक्न सक्दैन,’ उनले नयाँ पत्रिकासँग भने ।
देउवापक्षीय सहमहामन्त्री प्रकाशशरण महतले पनि महाधिवेशन सुनिश्चित भएको बताए । ‘अधिवेशन सुरु भएको छ । अधिवेशनमा उत्साहजनक सहभागिता छ । महाधिवेशन हुन्छ कि हुँदैन भन्ने द्विविधालाई अधिवेशनले चिरेको छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन पनि कार्यतालिकाअनुसार नै सम्पन्न हुन्छ ।’
सभापति शेरबहादुर देउवा शुक्रबार वडा अधिवेशन उद्घाटन गर्न भक्तपुरको कटुन्जे पुगेका थिए । उनले सकेसम्म सर्वसम्मत रूपमा नेतृत्व चयन गरेर अगाडि बढ्नुपर्ने बताएका थिए ।
संघीयतापछिको पहिलो महाधिवेशन भएकाले महत्वपूर्ण छ : कृष्णप्रसाद सिटौला

अन्तर्वार्ता
क्रियाशील सदस्यतासम्बन्धी विवाद नसकीकनै महाधिवेशन कार्यतालिका सुरु भएको छ । यसले महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुनेमा आशंका पनि व्यक्त भइरहेको छ नि !
वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्मको समय निकै छ । बीचमा चाडपर्वहरू पनि पर्ने भएकाले केन्द्रीय कार्यसमितिले सर्वसम्मतले नै कार्यतालिका बनाएको हो । शुक्रबारदेखि महाधिवेशनको प्रक्रिया सुरु भएको छ । मलाई लाग्छ, २४–२५ गतेभित्रमा देशभरिका वडा अधिवेशन सम्पन्न हुन्छन् । क्रियाशील सदस्यताको विवाद मिलाउनका लागि सबै नीतिगत निर्णय भइसकेको छ ।
सानोतिनो प्राविधिक कारणले केही अड्किएको होला, त्यो सबै केन्द्रीय कार्यालयले मिलाउँछ भन्ने मेरो विश्वास हो । अब कुनै पनि कारणले हामीले महाधिवेशनलाई प्रभावित हुन दिनुहुँदैन । २७ भदौसम्ममा पालिकाहरूको अधिवेशन पनि सकिन्छ र क्षेत्रीय अधिवेशनसम्म आइपुग्दा देशभरिका एक सय ६५ निर्वाचन क्षेत्रमा एकैपटक अधिवेशन हुन्छ भन्नेमा पूर्ण विश्वस्त छु ।
जनस्तरका संगठनहरूमा सर्वसम्मतले नै निर्णयहरू भएका छन् । जतिजति माथिल्लो तहमा पुगिन्छ प्रतिस्पर्धा त्यति नै बढेर जान्छ । देश संघीयतामा गइसकेपछिको पहिलो महाधिवेशन भएकाले पनि यो महाधिवेशन महत्वपूर्ण छ । कोभिडका कारणले केही ठाउँहरूमा जोखिम मोलेर अधिवेशनमा भाग लिनुपर्ने भएको छ । तर, अब सबै नेताहरू एक भएर महाधिवेशनलाई अगाडि बढाउनुको विकल्प छैन ।
बाँकी रहेका जिल्लाहरूको क्रियाशील सदस्यसम्बन्धी विवादले अधिवेशनका आगामी चरणलाई असर गर्ने सम्भावना कति रहन्छ ? यसको समाधानका लागि तपाईंहरूका माग के हुन् ?
केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले अधिकांश क्षेत्रको विवाद समाधान गरेको छ । केही क्षेत्रको विवाद समाधानका लागि केन्द्रीय नेता तहले नै निर्णय गरोस् भनेर छानबिन समितिले सुझाब दिएको हो । बारा, सप्तरी, सर्लाही र धनुषाका केही क्षेत्रमा विवाद छ । यसको समाधान गर्नका लागि म, मीनेन्द्र रिजाल र रमेश लेखकजीले निर्णय गर्ने भन्ने जिम्मेवारी छ । अब दुई दिनभित्र हामी सबै नीतिगत निर्णय गर्छौँ । महाधिवेशनको कार्यतालिका अब प्रभावित हुन दिनुहुँदैन ।
महाधिवेशनमा तपाईं छुट्टै प्यानल बनाएर जानुहुन्छ कि संस्थापन वा इतर पक्षमध्ये एकलाई सहयोग गर्नुहुन्छ ?
मेरो आफ्नो धार देशव्यापी रूपमा छ । पार्टीभित्रको प्रतिस्पर्धामा मैले नेतृत्व गरेको जुन धार छ, त्यसले निरन्तरता पाउनेछ । हामी महाधिवेशनमा सहभागी हुनेछौँ । पार्टीभित्रको हाम्रो धार पूर्ण र विस्तारित छ ।
रामचन्द्र पौडेल पक्षले साझा उम्मेदवार तय गर्ने घोषणा नै भएको छ । तपाईंसँग पनि सल्लाह भएको होला नि ?
मसँग सल्लाह भएको छैन । उहाँहरूले साझा उम्मेदवार बनाउने भनेर त चार वर्षअघिदेखि भन्दै आउनुभएको छ नि !