पछिल्लो दिनको उच्च अंकको करेक्सनलाई पार गर्दै सेयर बजार झिनो अंकसहित लयमा फर्किएको छ । लयमा फर्किएको नेप्सेमा लगानीकर्ताहरू भने अझै पनि ‘पर्ख र हेर’को अवस्थामा रहेका छन् । बुधबार नेप्से परिसूचक एक दशमलव १८ अंकले बढेर दुई हजार नौ सय ७७ दशमलव ०२ बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि झिनो अंकले सकारात्मक बनेको छ ।
बुधबार कारोबारमा आएका १३ समूहको सूचकमा होटेल तथा पर्यटन समूहको सूचक तीन दशमलव ७६ प्रतिशतले बढ्दा लगानीकर्ताको आकर्षण बढेको छ । वाणिज्य बैंक, जीवन बिमा, लगानीगत समूहको सूूचक सकारात्मक बनेका छन् । बाँकी नौ समूहको सूचक नकारात्मक बनेका छन् भने फाइनान्स समूहको सूचकमा दुई दशमलव ७५ प्रतिशतले गिरावट आउँदा यी समूहका लगानीकर्ता सबैभन्दा बढी निराश बनेका छन् ।
रुरु जलविद्युत् परियोजना, ओरिएन्टल होटेल, युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनी, सोल्टी होटेलमा लगानीकर्ता झुम्मिएका छन् । लाइफ इन्स्योरेन्स कम्पनी नेपाल, मनकामना स्मार्ट लघुवित्त, कालिका पावर कम्पनीको सेयर मूल्य चार प्रतिशतले बढेको छ ।
बुधबार सन्राइज म्युुचुअल फन्ड १० प्रतिशतले घटेर नकारात्मक सर्किट मूूल्यमा कारोबार भएको छ । त्यसैगरी, खानीखोला हाइड्रोपावर डेभलपमेन्ट, गुह्येश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, आइसिएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, माउन्टेन इनर्जीका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् ।
कारोबारको रकम पनि सो दिन घटेको छ । बुधबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २६ कम्पनीको एक करोड ७१ लाख कित्ता/इकाइ सेयर किनबेच हुुँदा नौ अर्ब ३५ करोड १७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावरको ६० करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यसैगरी, युनाइडेट मोदी हाइड्रोपावरको ३० करोड १४ लाख रुपैयाँ, अपि पावर कम्पनीको २३ करोड ७५ लाख रुपैयाँ, हिमालयन डिस्टिलरी कम्पनीको २३ करोड ३६ लाख रुपैयाँ, रिडी हाइड्रोपावर डेभलपमेन्टको २२ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ ।
सानिमा लाइफको सेयर सूचीकृत
सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको ६० लाख कित्ता आइपिओसहित दुई करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम एक सय तीन रुपैयाँ १७ पैसादेखि तीन सय नौ रुपैयाँ ५१ पैसा ओपनिङ रेन्ज प्रदान गरेको छ । त्यसअनुसार बिहीबारदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबार आउने भएको छ । नेप्सेले कम्पनीको सेयरलाई एसएलआई कारोबार संकेत प्रदान गरेको छ । उक्त कारोबार संकेतमा कम्पनीको सेयर कारोबार हुनेछ ।