म्याग्दीका खोमराज शर्मा ‘वर्ल्ड ब्लाइन्ड आइडल’ घोषित भएका छन् । बेनी नगरपालिका– ५ डडुवाका दृष्टिविहीन शर्माले चान्स फर द ब्लाइन्ड फाउन्डेसन, पोल्यान्डले आयोजना गरेको प्रतियोगितामा २६ देशबाट सहभागी भएकाहरूलाई पछि पार्दै विश्व दृष्टिविहीन आइडलको उपाधि हात पारेका हुन् ।
विश्वका दृष्टिविहीनबीच हुने यो प्रतिस्पर्धामा नेपालबाट नेपाल नेत्रहीन संघले संघका उपाध्यक्षसमेत रहेका शर्मालाई मनोनयन गराएको थियो । इमेलबाट अनलाइन भोटका आधारमा सर्वाधिक भोट पाएर आफू आइडल घोषित भएको बुधबार आयोजक संस्थाको तर्फबाट फोनमार्फत जानकारी प्राप्त भएको शर्माले बताए ।
सेप्टेम्बर १० तारिखका दिन पोल्यान्डमा विशेष समारोह आयोजना हुने र उक्त अवसरमा आइडलको उपाधिसहितको पुरस्कार प्रदान गरिने जनाइएको छ । कोरोना महामारीको कारण शर्मालाई अनलाइनमार्फत आइडलको पुरस्कार प्रदान गर्ने आयोजक संस्थाले जनाएको छ ।
प्रतियोगितामा अमेरिका, कुवेत, इटली, इजिप्ट, पोल्यान्ड, ब्राजिल, केन्या, साउदी अरेबिया, नेदरल्यान्डलगायतका देशका २६ जना नोमिनेनमा छनोट भएर प्रतिस्पर्धा गरेका थिए । आइडलका प्रतिस्पर्धीहरूमा अनलाइनमा इमेलमार्फत भएको भोटमा शर्माले आठ हजार दुई ७१ भोट प्राप्त गरेका छन् ।
राष्ट्रिय अपांग महासंघ नेपाल गण्डकी प्रदेशको अध्यक्षसमेत रहेका शर्माले आफूलाई विजयी गराउन इमेलमार्फत भोट गर्ने सबैप्रति आभार प्रकट गर्दै उपाधिले दृष्टिविहीनहरूको क्षेत्रमा थप सक्रिय भएर लाग्ने प्रेरणा र हौसला प्रदान गरेको बताए ।
आफू दृष्टिविहीन भए तापनि विगत ०५६ सालदेखि नेपाल नेत्रहीन संघका बाग्लुङ, इलाम र कास्की शाखाहरू र केन्द्रको विभिन्न जिम्मेवारीमा रहेर नेपाली दृष्टिविहीन व्यक्तिहरूको शिक्षा, प्रविधिमा पहुँच, रोजगार र सशक्तीकरणका लागि शर्माले काम गर्दै आएका छन् ।