कोभिडमा हवाई क्षेत्रले ३७ अर्ब आम्दानी गुमायो

मंगलबार, १५ भदौ, २०७८
डिजिटल संस्करण
कोभिडमा हवाई क्षेत्रले ३७ अर्ब आम्दानी गुमायो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘इन्टरनेसनल लबी’मा सोमबार साँझ देखिएको भिड । दोस्रो लहरको संक्रमण फैलिन कम हुँदै गएपछि जेठ १८ देखि सीमित अन्तर्राष्ट्रिय उडान र १७ असारदेखि सीमित आन्तरिक उडान सुरु गरिएको छ । तस्बिर : अमुल थापा/नयाँ पत्रिका

  • नागरिक उड्डयन प्राधिकरणले १२ अर्ब, नेपाल वायुसेवा निगमले सात अर्ब, हिमालय एयरलाइन्सले तीन अर्ब र आन्तरिक वायुसेवा कम्पनीहरूले १५ अर्ब आम्दानी गुमाए
  • नेपालमा अन्तर्राष्ट्रिय उडानतर्फ तीनवटा वायुसेवा, आन्तरिक उडानतर्फ नौवटा वायुसेवा र १० वटा हेलिकोप्टर कम्पनीहरू सञ्चालनमा
  • त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थल भएर दैनिक औसतमा ३० वटा अन्तर्राष्ट्रिय र दैनिक दुई  सय १० वटा आन्तरिक उडान भइरहेको छ
  • अन्तर्राष्ट्रिय उडानतर्फ तीनवटा नेपाली वायुसेवा र २७ वटा विदेशी वायुसेवाले १५ मुलुकका ३२ वटा गन्तव्यमा उडान सञ्चालन गरिरहेका छन्
  • श्रीलंकाको राष्ट्रिय ध्वजाबाहक श्रीलंकन एयरलाइन्सले ३१ अगस्ट २०२१ अर्थात् मंगलबारदेखि हप्तामा दुई दिन नियमित उडान सुरु
  •  २०२१ मा अन्तर्राष्ट्रिय उडानमा ६७–७५ प्रतिशतसम्म र आन्तरिक उडानमा २०–३० प्रतिशतसम्म हवाई यात्रु घट्न सक्ने प्रक्षेपण

विश्वभरि फैलिएको कोभिड–१९ महामारीका कारण नेपाली हवाई (उड्डयन) उद्योगले ३७ अर्ब रुपैयाँबराबरको आम्दानी गुमाएको छ । ०७६ चैतदेखि ०७८ असारसम्म नियमित उडानहरू अवरुद्ध हुँदा उड्डयन क्षेत्रले कोभिडपूर्व प्रक्षेपण गरेको आम्दानीमा ठूलो हिस्सा गुमाउन पुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणको वार्षिक प्रतिवेदनमा उल्लेख छ । नेपालमा कोभिड संक्रमण फैलिन नदिन ०७६ चैत ११ देखि लकडाउन सुरु भएको थियो । 

कोभिड महामारीले सबैभन्दा बढी प्रभावित भएको पर्यटन र उड्डयन क्षेत्र हो । लकडाउन सुरु भएपछि ०७८ असारसम्म करिब १६ महिनामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले कोभिडपूर्वको प्रक्षेपित आयभन्दा १२ अर्ब रुपैयाँ र वायुसेवा कम्पनीहरूले २५ अर्ब रुपैयाँबराबरको आम्दानी गुमाएका छन् । प्राधिकरणले सार्वजनिक गरेको ०७७/७८ को वार्षिक प्रगति विवरणअनुसार राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले ७ अर्ब, हिमालय एयरलाइन्सले ३ अर्ब र आन्तरिक वायुसेवा कम्पनीहरूले १५ अर्ब रुपैयाँबराबरको आम्दानी गुमाएका छन् ।

नेपालमा अन्तर्राष्ट्रिय उडानतर्फ ३ वटा वायुसेवा, आन्तरिक उडानतर्फ ९ वटा वायुसेवा र १० वटा हेलिकोप्टर कम्पनीहरू सञ्चालनमा छन् । अहिले अन्तर्राष्ट्रिय उडानतर्फ ३ वटा नेपाली वायुसेवा र २७ वटा विदेशी वायुसेवाले १५ मुलुकका ३२ वटा गन्तव्यमा उडान सञ्चालन गरिरहेका छन् । संयुक्त अरब इमिरेट्सको वायुसेवा कम्पनी एयर अरेबिया अबुधाबीले १८ अक्टोबर २०२० देखि नेपालमा आफ्नो नियमित उडान सुरु गरेको छ भने श्रीलंकाको राष्ट्रिय ध्वजाबाहक श्रीलंकन एयरलाइन्सले पनि ३१ अगस्ट २०२१ अर्थात् मंगलबारदेखि हप्तामा दुई दिन नियमित उडान सुरु गरेको छ ।

सरकारले कोभिड संक्रमण फैलिन नदिन ०७६ चैतदेखि लकडाउन सुरु गरेपछि ०७७ भदौ १६ सम्म उद्धार तथा राहतका उडानबाहेक नियमित उडानहरू पूर्ण रूपमा बन्द गरिएको थियो । त्यसपछि सीमित संख्यामा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न खुला गरिएको थियो । यहीबीचमा फेरि कोभिडको दोस्रो लहर फैलिन थालेपछि निषेधाज्ञा जारी हुँदा ०७८ वैशाख २० देखि नियमित आन्तरिक उडान र वैशाख २३ देखि नियमित अन्तर्राष्ट्रिय उडानमा पुनः रोक लगाइएको थियो । दोस्रो लहरको संक्रमण फैलिन कम हुँदै गएपछि जेठ १८ देखि सीमित अन्तर्राष्ट्रिय उडान र १७ असारदेखि सीमित आन्तरिक उडान सुरु गरिएको छ ।

अहिले पनि सीमित संख्यामा मात्र आन्तरिक र अन्तर्राष्ट्रिय उडान भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख प्रताप तिवारीले बताए । उनका अनुसार अहिले १२ वटा स्वदेशी तथा विदेशी वायुसेवाले त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थल भएर दैनिक औसतमा ३० वटा अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् । यस्तै, दैनिक २ सय १० वटा आन्तरिक उडान भइरहेको उनले बताए । सामान्य समयमा त्रिभुवन विमानस्थल भएर दैनिक ३ सयभन्दा बढी आन्तरिक उडान हुँदै आइरहेको थियो । उनले भने, ‘अहिले आन्तरिकतर्फ ७० देखि ८० प्रतिशतसम्म उडान भइरहेको छ भने अन्तर्राष्ट्रिय उडान धेरै कम छ ।’

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले कोभिडका कारण एसिया प्रशान्त क्षेत्रमा सन् २०१९ को तुलनामा सन् २०२० मा अन्तर्राष्ट्रिय उडानमा ७४ प्रतिशत र आन्तरिक उडानमा ५० प्रतिशत हवाई यात्रु घटेको जनाएको छ । यस्तै, सन् २०२१ मा अन्तर्राष्ट्रिय उडानमा ६७–७५ प्रतिशतसम्म र आन्तरिक उडानमा २०–३० प्रतिशतसम्म हवाई यात्रु घट्न सक्ने प्रक्षेपण छ । 

सन् २०१९ मा अन्तर्राष्ट्रिय उडानतर्फ हवाई यात्रु संख्या ४१ लाख ३८ हजार रहेकोमा कोभिड महामारीका कारण सन् २०२० यो संख्या ७३.२७ प्रतिशतले घटेर ११ लाख ६ हजारमा खुम्चिएको छ । यस्तै, आन्तरिक उडानतर्फ सन् २०१९ मा ३१ लाख ८८ हजार हवाई यात्रु आवागमन भएकोमा सन् २०२० मा यो संख्या ५९.४६ प्रतिशतले घटेर १२ अर्ब ९२ करोडमा सीमित हुन पुगेको प्राधिकरणले जनाएको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको हुँदा उल्लेखनीय संख्यामा विदेशी यात्रुको आगमन हुने अपेक्षा गरिएको थियो । तर, भ्रमण वर्ष सुरु नहुँदै विश्वमा कोभिड महामारी सुरु भएपछि हवाई तथा पर्यटन क्षेत्र धराशायीजस्तै हुन पुगेको प्राधिकरणको भनाइ छ ।

पोखरा विमानस्थलको प्रगति ७९ प्रतिशत
निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ७९ प्रतिशत सम्पन्न भएको प्राधिकरणले जनाएको छ । निर्धारित समयभन्दा ६ महिनाअघि निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेका वेलामा कोभिड फैलिन थालेपछि विदेशी जनशक्ति काममा फर्किन नसक्दा निर्माणमा सुस्तता आएपछि करिब एक वर्षपछाडि धकेलिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा ३ सय मिटर लम्बाइको रन वे इन्ट सेफ्टी एरिया (आरइएसए) सञ्चालनमा आएको छ । त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थलका रूपमा स्तरोन्नति गर्ने योजनाअनुरूप अन्तर्राष्ट्रिय टर्मिनल भवन र आन्तरिक टर्मिनल भवनको रेनोभेसनसम्बन्धी काम सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ । आन्तरिक टर्मिनल भवनको क्षमता विस्तार गर्न एक्सटेन्सन गर्ने काम ६५ प्रतिशत सम्पन्न भइसकेको दाबी छ । धावनमार्गमा वायुयानलाई सुरक्षित अवतरणका लागि मार्गदर्शन गर्न आधुनिक एप्रोच लाइटिङ सिस्टम जडान गरी सञ्चालनमा ल्याइएको छ ।

आन्तरिक विमानस्थलहरू
जनकपुर विमानस्थलमा आधुनिक टावर, टर्मिनल भवन निर्माण गरेर सञ्चालनमा ल्याइसकेको प्राधिकरणले जनाएको छ । चन्द्रगढी, तुम्लिङटार, राजविराज तथा सिमिकोट विमानस्थलको धावनमार्ग तथा ट्याक्सी वे सुधार सम्पन्न भएको छ । इलाम विमानस्थलको धावनमार्ग, ट्याक्सी वे, एप्रोन कालोपत्रे, ड्रोनेज, फेन्सिङ लगाउने काम सकिएको छ । रारा (मुगु) विमानस्थलमा टावर, टर्मिनल भवन निर्माण तथा एप्रोन र धावनमार्गको पूर्वपट्टि पहिरो नियन्त्रण कार्य जारी छ । 

डोल्पा मसिनेचौर विमानस्थलको धावनमार्ग, ट्याक्सी वे तथा एप्रोनको कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ । यस्तै, बझाङ, बैतडी र डोटी विमानस्थलको पनि धावनमार्ग, ट्याक्सी वे, एप्रोन कालोपत्रे गरी प्रदेश राजधानी धनगढीबाट नियमित हवाई सेवा सुरु भइसकेको छ । 

कोभिड महामारीले प्राधिकरणको आम्दानी खुम्चिएपछि प्राधिकरणको स्रोतबाट सञ्चालन हुने आन्तरिक विमानस्थलहरूको विकास तथा स्तरोन्नतिका कामहरू प्रभावित भएको वार्षिक प्रगति विवरणमा उल्लेख छ । तर, ठूला आयोजनाहरू भने सरकारको स्रोतबाट सञ्चालन हुने हुँदा बजेटको अभाव नहुने बताइएको छ ।

गौतमबुद्ध विमानस्थलको प्रगति ९७ प्रतिशत  सम्पन्न
रुपन्देहीको भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ९७ प्रतिशत पुगेको प्राधिकरणले जनाएको छ । कोभिडले निर्माण कार्यमा सुस्तता आए पनि निर्माणमा रोकावट नभएको उसको भनाइ छ । 

अहिले विमानस्थलको भौतिक पूर्वाधार निर्माण कार्य सम्पन्न भई फिनिसिङको काम भइरहेको छ । विमानस्थलमा जडान गर्नुपर्ने रन वे लाइट, यान्त्रिक अवतरण प्रणाली, सञ्चार–उड्डयन सहायक उपकरणहरू, ब्यागेज ह्यान्डलिङ सिस्टम, एक्स–रेलगायत यन्त्र उपकरण जडान कार्य सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ । 

उड्डयन उपकरण तथा उडान विधिको चेकजाँच तथा परीक्षण गर्न फ्लाइट क्यालिब्रेसनका लागि विदेशबाट विशेष वायुयान तथा दक्षविज्ञ आउन नसकेपछि प्राधिकरणले भारतको एयरपोर्ट अथोरिटी अफ इन्डिया (एएआई) सँग प्रस्ताव प्राप्त गरी नेपाल सरकारको स्वीकृतिका लागि पठाएको छ । 

प्राधिकरणका अनुसार फ्लाइट क्यालिब्रेसनको काम सम्पन्न भएको करिब ३ महिनापछि विमानस्थल उडान सञ्चालनका लागि योग्य हुने र त्यसपछि परीक्षण उडान सम्पन्न गरी विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि खुला गरिने भएको छ । 

सुझावित समाचार