गुल्मीका ४२ विपन्न परिवारलाई मुख्यमन्त्रीको ओत

सोमबार, १४ भदौ, २०७८
डिजिटल संस्करण
गुल्मीका ४२ विपन्न परिवारलाई मुख्यमन्त्रीको ओत

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम मार्फत घर पाएका सत्यवति १ का यादव पाण्डेय। उनले परदेशमा रोजगारीको शिलशीलामा दुर्घटनामा परेर हातखुट्टा गुमाएका छन्।

नयाँ सरकार गठनसँगै लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम खारेज हुने चर्चा सुरु भएको छ। तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले स्थानीय तहमार्फत गरिबी हटाउने उद्देश्यले ०७५ सालबाट मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सुरु गरेका थिए। 

आर्यआर्जन स्वरोजगारीसँगै सामाजिक संरक्षणअन्तर्गत गुल्मीमा करिब ४२ विपन्न परिवारका घर निर्माण भएका छन्। प्रदेशका उपसचिव यमकान्त पाण्डेयले बाहिर कार्यक्रम खारेजको चर्चा सुरु भए पनि औपचारिक निर्णय नभएको बताए। 

गुल्मीमा गत वर्ष मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत ४२ घर निर्माण गरिएको छ। दुई नगर र १० गाउँपालिकामध्ये जिल्लाको सबैभन्दा विकट मानिने कालीगण्डकी गाउँपालिकामा नै बढी १४ घर निर्माण भएका छन्। कालीगण्डकी गाउँपालिका वडा नं. १ हर्मिचौर, वडा नं. ३ जयखानी, वडा नं. ५ फोक्सिङ र वडा नं. ७ भुर्तुङमा एक–एक घर निर्माण भएका छन्। त्योसँगै वडा नं. २ अर्वेनीमा पाँच, वडा नं. ४ पुर्तिघाटमा दुई र वडा नं. ६ खडगकोटमा तीन घर निर्माण भएको सहजकर्ता लक्ष्मी ढकालले जानकारी दिइन्।

कालीगण्डकीमा १८ घर निर्माण गर्नुपर्ने भए पनि तीन घर निर्माणाधीन र एक घर निर्माण नभएको ढकालले बताइन्। कालीगण्डकीमा आर्थिक वर्ष ०७६–७७ मा पनि एक घर निर्माण गरिएको थियो। 

सहजकर्ता ढकालका अनुसार सत्यवती गाउँपालिकामा गत वर्ष चार घर निर्माण भएका छन्। वडा नं. ३ ठूलोलुम्पेक, वडा नं. ५ हँसरा, वडा नं. ६ जुहाङ र वडा नं. ७ जुनियाँमा एक–एक घर निर्माण गरिएको छ। आर्थिक वर्ष ०७६–७७ मा पनि सत्यवती गाउँपालिकामा तीन घर निर्माण भएका थिए। वडा नं. १ अस्लेवा, वडा नं. ५ हँसरा र वडा नं. ६ जुहाङमा एक–एक घर निर्माण भएका थिए। मालिका गाउँपालिका– ५ छापहिलेमा दुई विपन्न परिवारलाई र धुर्कोट– २ पिपलधारामा आगलागीपीडित एक परिवारलाई घर निर्माण गरिएको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका सहजकर्ता हरिकृष्ण विश्वकर्माले जानकारी दिए।

इस्मा गाउँपालिकामा पहिरोबाट विस्थापित परिवारले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत घर पाएका छन्। गाउँपालिकाको विभिन्न वडामा १० घर निर्माण भएका छन्। इस्मा गाउँपालिका वडा नं. १ हस्तिचौरमा चार घर, वडा नं. २ हस्तिचौर र ३ दर्लामचौरमा तीन–तीनवटा घर निर्माण गरिएको सहजकर्ता राजन घिमिरेले जानकारी दिए। त्यस्तै रेसुंगा नगरपालिका– ६ वटा वडामा सात घर निर्माण गरिएको छ। वडा नं. ३, ४, ७, १० र १२ मा एक–एक घर तथा वडा नं. ९ मा दुई घर निर्माण भएका छन्। गुल्मी दरबार गाउँपालिकामा पहिरोबाट विस्थापित परिवारलाई मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत पाँचवटा घर निर्माण गरिएको छ।

गाउँपालिकाको वडा नं. १ मा एक र वडा नं. ७ मा तीन घर निर्माण गरिएको सहजकर्ता सुधा ज्ञवालीले जानकारी दिइन्। 

See More On

सुझावित समाचार