कालीगण्डकीमा पहिरो खस्दा कालीपुल बजारमा छाल, आठ घरमा क्षति

सोमबार, १४ भदौ, २०७८
डिजिटल संस्करण

म्याग्दी सदरमुकाम बेनीको कालीपुलस्थित कालीगण्डकी नदीमा खसेको पहिरोले बजारमा आएको नदीको छाल र बाढीले तीनजना घाइते भएका छन् भने आठ घरमा क्षति पुर्याएको छ। पर्वतको जलजला गाउँपालिका– ३ मल्लाजको भिरबाट कालीगण्डकी नदीमा पहिरो खस्दा बेनी नगरपालिका– ८ मा कालीगण्डकी नदी किनारमा रहेको कालीपुल बजारमा छालसहितको बाढी आएको थियो ।

मध्यरातमा करिब साढे २ बजे पारीपट्टिबाट खसेको पहिरोले नदीको पानी छाल र बाढी भएर बजारतर्फ आएपछि आठ घरमा क्षति पुर्याएको कालीपुल टोल सुधार समितिका संयोजक ताराप्रसाद पुनले जानकारी दिए। उनका अनुसार बाढीले घरहरू भत्कँदा सन्तु पुन, गोविन्द बुढा र रेखा नेपाल घाइते भएका छन्। उनीहरूलाई स्थानीयवासीले उद्धार गरी बेनी अस्पतालमा उपचारका लागि लगेका छन्।

‘पहिरो खस्ने क्रम रोकिएको छैन। तल्लो तटीय क्षेत्रका मानिस घरबाहिर निस्किएर बसेका छौँ। पहिरो र बाढीले कालीपुल बजारका ३० घर जोखिममा छन्,’ संयोजक पुनले भने। मध्यरातमा अविरल वर्षासँगै ठूलो आवाजमा पहिरो खसेपछि स्थानीयवासी भागदौड गरेर कालीपुलको माथिल्लो भागमा पुगेका थिए। उनीहरूले रातभर सडकका पेटीमै आश्रय लिएका छन्।

‘पहिरोका कारण घरभित्रै छाल आयो। वृद्धवृद्धालाई बोकेर सुरक्षित स्थानमा सार्याैँ। अझै जोखिम टरेको छैन। पहिरो खसेको ठाउँमा थप पहिरो जाने जोखिम छ,’ स्थानीय सुरेश पुनले भने। उनका अनुसार छालले घरसँगै शौचालय, बाथरुम, खानेपानीलगायतमा क्षति पुर्याएको छ। नदी नियन्त्रणका लागि बनाइएको पर्खालको फलामे तारबारसमेत भत्किएको छ।

यसैबीच, पहिरो र बाढीको चपेटामा परेको कालीपुल क्षेत्रको अवस्थाबारे बेनी नगरपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मीलगायतको टोलीले स्थलगत निरीक्षण गरेका छन्। पहिरो खसेर आएको बाढीले पुर्याएको क्षतिबारे अवस्था बुझ्ने काम गरिएको र थप जोखिम नटरेकाले स्थानीयवासीलाई सुरक्षित स्थानमा रहन अनुरोध गरिएको बेनी नगरपालिकाका प्रवक्ता एवं ८ नम्बर वडाका अध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिए।

सुझावित समाचार