बाँके र बर्दियामा बाघको आक्रमणबाट तीन वर्षमा २३ जनाले ज्यान गुमाएका छन्। बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका बाघले आक्रमण गर्दा यी जिल्लाका २३ जनाको ज्यान गएको तराई भू–परिधि कार्यक्रम बर्दियाका प्रमुख डा. रविन कडरियाले जानकारी दिए।
निकुञ्जमा बाघको संख्या बढ्दै गएको बताउँदै उनले अढाई वर्षमा ६ वटा बाघलाई नियन्त्रणमा लिएर चितवन, बाँके र बर्दियामा राखिएको बताए। सोही अवधिमा सात वटा बाघलाई चोरी शिकारीले मारेको उनको भनाइ छ। ‘बर्दिया राष्ट्रिय निकुञ्जमा दुई सय २१ र बाँके निकुञ्जमा ८७ गरी तीन सय ८ वटा बाघ यस क्षेत्रका जंगलमा छन्,’ उनले भने।
उनले बाघ संरक्षणले सम्पूर्ण जिवजन्तु र प्राणीको संरक्षणमा टेवा पुगेको बताए। ‘बाघ संरक्षणले चुरे लेकको संरक्षण भएको छ। चुरे संरक्षण हुँदा पानी र अक्सिजन उत्पादनमा टेवा पुगेको छ,’ उनले भने।
कोरोना संक्रमणले बाघ र अन्य वन्यजन्तु संरक्षण गर्न समस्या भएको बताउँदै बाघमा समेत कोरोना संक्रमणको खतरा औँल्याए। भारतका विभिन्न निकुञ्जमा रहेका बाघमा कोरोना संक्रमण भएको पुष्टि भएको डा. कडरियाले उल्लेख गरे।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले निकुञ्जभित्र बाघ र अन्य वन्यजन्तु देख्न सकिने बताए। निकुञ्जमा बाघको संख्या बढेकाले जंगलमा शिकार नपाएपछि बाघहरु बस्तीमा पस्ने गरेको उनले बताए।