क्रियाशील सदस्यताको बाँकी विवाद दुई दिनभित्र समाधान हुन्छ : प्रकाशमान सिंह

शनिबार, १२ भदौ, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले क्रियाशील सदस्यताको बाँकी विवाद दुई दिनभित्र समाधान हुने सहमति भएको बताएका छन् । शनिबार बिहान चाक्सीबारीस्थित नेता सिंहको निवासमा बसेको पौडेल पक्षका नेताहरूको बैठकपछि पत्रकारहरूसँग उनले यस्तो बताएका हुन् ।

उनका अनुसार दुई दिनभित्र क्रियाशील सदस्यहरूको बाँकी विवाद समाधान गरी वडा अधिवेशन भदौ १८ बाटै प्रारम्भ गर्ने पार्टी केन्द्रीय समिति र निर्वाचन समितिको निर्णय कार्यान्वयन गरेर अघि बढ्ने विषयमा पार्टी सभापति शेरबहादुर देउवासँग सहमति भएको छ।

सभापति देउवासँग वरिष्ठ नेता पौडेलले शुक्रबार भेटवार्ता गरेका थिए । भेटपछि पौडेल पक्षले महाधिवेशनको वातावरण बनेको निष्कर्ष निकाल्दै त्यसका लागि सिंगो पार्टी पंक्तिलाई एकजुट भएर अघि बढन आह्वान गर्ने निष्कर्षमा पुगेको छ। महाधिवेशनमा एकजुट भएर लाग्नका लागि सिंगो पार्टी पंक्तिलाई औपचारिक कार्यक्रम गरी आह्वान गर्ने निर्णय भएको नेता सिंहले जानकारी दिए। 

नेता सिंहले भने, ‘क्रियाशील सदस्यहरूको विवादसम्बन्धी बाँकी काम पनि विधि र नियमपूर्वक गरेर महाधिवेशनमा जाने विषयमा सभापतिजीसँग कुरा भएको छ । त्यसैअनुसार अघि बढिनेछ । आजै यो बैठकबाट रिले अनशनमा बसिरहेका जिल्ला सभापतिजीहरूको माग सम्बोधन हुने वातावरण बनेकाले रिले अनशन तोडाउने निर्णय पनि गरिएको छ । अब महाधिवेशनका लागि सबैले एकजुट भएर कांग्रेसको महाधिवेशनमा लाग्नका लागि एक कार्यक्रमको आयोजना गरी अनुरोध गर्ने भन्ने सहमति भएको छ ।’

सुझावित समाचार