नेपाली कांग्रेसले ४८ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ। १४औँ महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्य सम्पन्न भएका विवरण वेबसाइटमार्फत सार्वजनिक गरेको छ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको वेबसाइटमा विवरण सार्वजनिक गरेको हो। संयोजक महादेवप्रसाद यादवले जिल्लाहरूका क्रियाशील सदस्यको नामावली नेपाली कांग्रेस निर्वाचन निर्देशिकाअनुसार विवरण सार्वजनिक गरिएको जानकारी दिए। साथै समितिले सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतहरूलाई समेत खटाइसकिएको उनले जानकारी दिए। कांग्रेसले बिहीबार र शुक्रबार गरेर विवरण सार्वजनिक गरेको जनाएको छ।
बिहीबार सार्वजनिक भएका जिल्लाहरूमा ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, झापा, म्याग्दी, नवलपुर (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), रुपन्देही, पाल्पा, रुकुम (पूर्वी भाग), रोल्पा, रुकुम (पश्चिम भाग), जुम्ला, मुगु, हुम्ला, बझाङ, डोटी, दार्चुला, बैतडी र कञ्चनपुर रहेका छन् । त्यस्तै, शुक्रबार धनकुटा, भोजपुर, गुल्मी, प्युठान, दाङ, सल्यान, कालिकोट, जाजरकोट, दैलेख र अछाम रहेका छन्।
तर, क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्न माग गर्दै रिले अनशनमा बसेका जिल्ला सभापतिहरूले भने सबै विवरण सार्वजनिक नभएकाले अनशन निरन्तर जारी रहने बताएका छन्। नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले अनशन नरोकिने नयाँ पत्रिकालाई जानकारी दिए। ‘सबै विवरण सार्वजनिक भएका छैनन्। अहिले सार्वजनिक भएको विवरणका आधारमा अनशन रोकिँदैन,’ उनले भने ।