गत वर्ष हामीलाई उनले भनेका थिए, ‘सत्तासीन साथीले भेट्ने समय नै दिएनन् ।’ तर, अब उनलाई कसैले भेट्न समय दिनुपर्ने छैन।
७८ वर्षको उमेरमा यस संसारबाट बिदा भए जनगायक जेबी टुहुरे । गत मंगलबार कलंकीस्थित निवासमा अचानक लडेपछि अस्पतालको शय्यामा पुगेका थिए उनी । त्यही शय्याबाट अन्तिम सास लिए उनले ।
हिजो किशोरकालदेखि नै वामपन्थ विचारबाट प्रभावित भएर राजनीति र संगीतमा होमिए । पञ्चायतकालीन समयमा टुहुरेसँगै भोकभोकै हिँडेका, एकै कोठामा बसेका उनका साथीभाइ अहिले केन्द्रीय राजनीति र सत्तामा छन् । कोही पार्टी विभाजन गरिरहेका छन् त कोही शक्ति र सत्ताको अंकगणितमा लागेका छन् । तर, सँगै गाएका, संघर्ष गरेका टुहुरेहरू भने अस्पतालको शय्याबाट अन्तिम सास लिइरहेका छन् ।
तीन दिनसम्म वयोधा अस्पतालमा मृत्युसँग लडिरहँदा न उनका कोही साथीले चासो राखे, न सोधखोज नै गरे । कोही चन्द्रागिरिमा गुटको भेला गरिरहेका थिए त कोही बालकोटमा आफ्नो गुटको तस्बिर खिचाइरहेका थिए अथवा कोही शक्तिको खेलमा लठ्ठ थिए । अहिले जब टुहुरे बिते, तब कसले छिटो श्रद्धाञ्जली दिने ? सामाजिक सञ्जालमा पोस्ट गर्न उनीहरू नै हतार गरिरहेका छन् ।
गत वर्ष हामीले भेट्दा ७६ वर्षका थिए उनी । लामो समयदेखि निमोनियाले ग्रस्त टुहुरे कोभिडसँग डराइरहेका थिए । हामीले प्लास्टिकको कुर्सीलाई निकै दूरीमा राखेर कुराकानी गर्यौँ । उनलाई मधुमेह पनि थियो, दिनमा तीनपटक त इन्सुलिनको सुई मात्रै आफ्नो शरीरमा घोच्थे ।
अस्पतालदेखि घरसम्म, घरदेखि अस्पतालसम्म, टुहुरेको दैनिकी यत्ति मात्रै थियो । बिसन्चो शरीर लिएर विगतहरूमा पुगिरहन्थे । यी जनवादी गायकले भनेका थिए, ‘यो शरीरको रोगले भन्दा ज्यादा विगतको यादले मलाई सताउँछ ।’
पहिलो लकडाउनको वेला काठमाडौं उपत्यकाबाट नागरिकहरू पोको–पुन्तुरो बोकेर घर हिँडेका थिए । तर, घर पुग्न सहज थिएन, सवारी चलेको थिएन । काठमाडौंमै बस्ने अवस्था पनि थिएन । र, उनीहरू सयौँ किलोमिटरको बाटो हिँडेर घर जाँदै थिए । ती निहत्था नागरिकको कथा भन्ने टुहुरेको एक गीत छ,
‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँद छ
लाखौँको लागि उजाड छ यो देश, मुठीभरलाई त स्वर्ग छ ’
०२६ साल । टुहुरे २६ वर्षकै थिए । वामपन्थी विचारबाट प्रभावित थिए । आजभन्दा ५२ वर्षअघि उनका साथी लव प्रधानले यस गीतको शब्द लेखे । टुहुरेले लय झिके, आवाज दिए । जब यो गीत जनताको कानमा गुन्जियो, ओठमा अल्झियो, तब टुुहुरेको मात्रै रहेन यो गीत । पञ्चायती कालरात्रिविरुद्ध आन्दोलनको आवाज बन्यो, राज्यबाट शोषित र उपेक्षित किसान र मजदुरको आवाज बन्यो । असमानताले थिचिएका विपन्नको आवाज बन्यो । र, समग्रमा परिवर्तनको आवाज बन्यो ।
व्यवस्था परिवर्तन गरौँ, विपन्नताको अवस्था परिवर्तन हुन्छ भन्दै टुहुरेहरू गीत गाउँदै, जनता जगाउँदै हिँडे । उनीहरूसँगै हुन्थे, तत्कालीन मालेका नेताहरू । कुराकानीका क्रममा टुहुरेले सम्झिएका थिए, ‘अहिलेका शक्तिमा र शीर्षस्थानमा जति पनि नेता छन्, उनीहरूको भाषण सुनिदिने जनता बटुलिदिने काम हाम्रो थियो ।’
नेताहरूमा पनि खासगरी तत्कालीन नेकपा मालेका महासचिव मदन भण्डारीसँग टुहुरे धेरै नजिक थिए । ०४६ को परिवर्तनपछि पनि टुहुरे मदनको निवासमा गइरहन्थे ।
आन्दोलनप्रति जनताको सदभाव र ऐक्यबद्धता थियो, तर आर्थिक रूपमा पार्टी कमजोर थियो । त्यसैले टुहुरेजस्ता गायकले पनि संघर्ष गरेर जीवनयापन गरे । त्योबीचमा कपडादेखि सागसब्जीसम्मको व्यापार गरे । किताब पसलदेखि हुँदै होटेल पनि चलाए । सुगामैनाको व्यापार गरे । र, साथमा जनवादी गीत गाउँदै हिँडे । यसबीचमा प्रहरीको कुटाइ खाए, थुनिए । ‘लाखौँ जनताको जीवन परिवर्तनका लागि हामी जे पनि गर्न तयार थियौँ,’ टुहुरेले भनेका वाक्य हुन् यी ।
दलका नेताहरूको आह्वानमा जनता एकाकार भए, देशमा परिवर्तन पनि भयो । आन्दोलनकारी नेताहरू सत्तासीन भए । तर, टुहुरेहरू टुहुरे नै रहे । ‘हाम्रै साथीहरू सत्तामा छन् नि, तर सत्तामा पुगेपछि जोकोही पनि बदलिँदो रहेछ । जनता त सधैँ अन्यायमै हो,’ टुहुरे भन्थे ।
गत वर्ष काठमाडौंमा पसिना बगाउन आएका मजदुरलाई अप्ठ्यारोमा राजधानीले आश्रय दिन सकेन । दुईछाक खाना र एकओत छाना दिन सकेन । त्यसैले मान्छेहरू कुम्लो–कुटुरो बोकेर रातारात सहर छाडिरहेका थिए । राजमार्गमा कोसौँको यात्रा पैदल हिँडिरहेका थिए । टिभीमा उक्त दुःखद दृश्य हेरेर दुःखी भएका टुहुरे भन्थे, ‘स–साना बच्चा बोकेर सुत्केरी महिला, वृद्धवृद्धाहरू मध्यरातको चिसो र अँध्यारोमा सहर छाडिरहेको समाचार पढ्दा मलाई फेरि ठूलो स्वरमा गाउन मन लाग्छ– लाखौँका लागि उजाड छ यो देश मुठीभरलाई त स्वर्ग छ ।’
गाएको ५० वर्षपछि, दलहरू सत्तामा पुग्न थालेको ३० वर्षपछि पनि यो गीत यति सान्दर्भिक होस् भन्ने टुहुरेले चाहेकै थिएनन् । आफ्नो गीत फेरि पनि सान्दर्भिक बनेकोमा उनलाई खुसी होइन, पीडा थियो । उनी भन्थे, ‘पसिना बगाउने विपन्नलाई थातथलो छोडेर हिँड्न बाध्य बनाइएको कथा भन्न यो गीत लेखिएको थियो । गरिबलाई गोलबन्द गर्नेहरू अहिले सत्तामा छन् । तर, जनता फेरि पनि भोकै मर्ने अवस्था आएको छ, ज्यान बचाउन फेरि बसाइँ हिँडेका छन् ।’
अहिले शक्तिमा भएका, शक्तिबाट बाहिरिएका, शक्तिमा पुग्ने कसरत गरिरहेका नेताहरू हिजो टुहुरेहरूको मादल र बाँसुरी बोकेर हिँडेका थिए, सँगै खाएका थिए, सुतेका थिए । तर, बिरामी टुहुरेहरूसँग कतिपय अवस्थामा औषधि किनेर खाने पैसा हुँदैन । ‘आन्दोलनलाई बलियो बनाउन हाम्रो पनि रगत र पसिना बगेको छ । तर, ती रगत र पसिना बगरमाथि खसेको पानीको थोपाजस्तै भयो,’ उनले दुःखी भएर भनेका थिए ।
कतिसम्म भने जिम्मेवारी लिइरहेका नेता साथीलाई भेट्न खोज्दा पनि टुहुरेहरूले समय पाएनन् । उनले भेट्न नखोजेका होइनन्, तर नेताहरूको प्राथमिकतामै परेनन् । ‘मेरो मात्र के कुरा, समग्रमा सत्ता र जनताको दूरी नै लामो बनेको छ, । हिजोको सहयात्री नै कसरी बाँचिरहेका छन् भन्ने चासो छैन भने निमुखा जनता रातबिरात कुम्लो बोकेर सहर छाड्दा उनीहरूलाई के चासो हुन्थ्यो !,’ उनले भनेका थिए, ‘अहिले आएर सत्ताको वरिपरि यस्तो वर्ग निर्माण भइदियो कि उनीहरूसम्म हाम्रो पहुँच नै हुँदैन ।’
०००