राष्ट्रिय जनमोर्चामा विवाद चर्किएपछि सुदूरपश्चिममा छुट्टै प्रदेश कमिटी गठन भएको छ । धनगढीमा दुई दिनसम्म भएको असन्तुष्ट समूहका नेता, कार्यकर्ताको भेलाले लोकेन्द्र लम्सालको अध्यक्षतामा समानान्तर प्रदेश समिति गठन गरेको छ । नन्दलाल भट्टको नेतृत्वमा जनमोर्चाको आधिकारिक प्रदेश कमिटी छ । लम्साल उक्त कमिटीका उपाध्यक्ष हुन् ।
असन्तुष्ट पक्षले गठन गरेको २३ सदस्यीय प्रदेश समितिको उपाध्यक्षमा तिलक परियार, सचिवमा लक्षीराम आचार्य, सहसचिवमा हुकुम साउद र कोषाध्यक्षमा केशवनाथ योगी चयन भएका छन् । भेलाले आठ सदस्यीय सचिवालय र पाँच सदस्यीय सल्लाहकार समितिसमेत गठन गरेको छ । प्रदेश कमिटीमा अधिकांश पहिलेकै कमिटीमा रहेका पदाधिकारी र सदस्य छन् ।
केन्द्रीय सदस्यसमेत रहेका प्रदेश इन्चार्ज लालबहादुर जाग्री र सहइन्चार्ज वेणीमाधव जोशीको उपस्थितिमा समिति गठन गरिएको नवगठित समितिका सचिव आचार्यले बताए । पार्टीले फरक विचार राख्ने नेता, कार्यकर्तालाई कारबाही गर्ने, एक्ल्याउने गर्न थालेपछि आफूहरू एकजुट भएर समिति गठन गरेको उनले बताए ।
‘हाम्रो पार्टीमा पाँच वर्षदेखि दुईलाइन संघर्ष छ । अन्तर्संघर्ष बढ्दै जाँदा फरक मत राख्नेलाई देशव्यापी रूपमा कारबाही गर्ने, पाखा लगाउने काम भयो,’ राष्ट्रिय जनमोर्चा कैलालीका पूर्वअध्यक्षसमेत रहेका आचार्यले भने, ‘त्यसका विरुद्ध हामी संगठित भएका हौँ ।’
गत चैतमा भएको पार्टी महाधिवेशनपछि प्रदेश भेलाले प्रदेश कमिटी गठन गर्ने व्यवस्था गरे पनि केन्द्रले नै प्रदेश कमिटी तोकेकाले त्यो आधिकारिक नभएको उनको दाबी छ । केन्द्रले तोकेको प्रदेश कमिटीको अध्यक्षबाहेक अधिकांश पदाधिकारी आफूसँग रहेको उक्त पक्षको दाबी छ । कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुरामा पनि जिल्ला कमिटी पुनर्गठन गरिएको असन्तुष्ट समूहका नेताहरूले बताएका छन् । बाँकी जिल्लाका अध्यक्षहरू आफूहरूसँगै रहेको उनीहरूको दाबी छ ।
राष्ट्रिय जनमोर्चाका प्रदेश अध्यक्ष नन्दलाल भट्टले पार्टीको कारबाहीमा परेका र कारबाहीको प्रक्रियामा रहेका व्यक्तिहरूले गठन गरेको समिति वैधानिक नभएको बताए । ‘कारबाहीमा परेका व्यक्तिहरूले भेला गरेका हुन् । उनीहरूले समिति गठन गर्नुको औचित्य छैन,’ भट्टले भने, ‘विधानविपरीत भेला गर्नेलाई थप कारबाही हुन्छ ।’
भट्टका अनुसार पार्टीको विधानविपरीत काम गरेको भन्दै प्रदेश सचिवसमेत रहेका केन्द्रीय सदस्य लालबहादुर जाग्री, प्रदेश उपाध्यक्ष लोकेन्द्र लम्साललाई कारबाही प्रक्रिया सुरु भएको थियो । यस्तै, प्रदेश कमिटीमा रहेका आचार्य र योगीलाई निष्कासन गरिएको थियो । जनमोर्चा केन्द्रमा देखिएको विवादको असर प्रदेशमा परेको हो ।
भेला अवैध हो : महासचिव भट्ट
यसैबीच राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले राष्ट्रिय जनमोर्चाका नाममा धनगढीमा भएको भेला अवैधानिक भएको बताएका छन् । महासचिव भट्टले विज्ञप्ति जारी गर्दै भेलाबाट गठन भएको समिति आधाकारिक नभएकाले खारेज गरिएको जनाएका छन् । ‘कथित प्रदेशस्तरीय भेला पार्टीको निर्णयबाट गरिएको होइन, त्यसैले उक्त भेला र भेलाबाट गठित कमिटी अवैध हो,’ विज्ञप्तिमा भनिएको छ । अवैध भेलाबाट निर्माण गरिएको अवैध समितिको भ्रममा नपर्न पनि राष्ट्रिय जनमोर्चाले विज्ञप्तिमार्फत अपिल गरेको छ ।