निर्वाचन आयोगमा प्रस्तावित दुई दल दर्ताको लागि सनाखत सकिएको छ। दल दर्ताका लागि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को दल दर्ताका लागि सनाखत सकिएको आयोगले जनाएको हो।
आयोगले सनाखत सकिएसँगै बुधबार नै दल दर्ताको प्रमाणपत्र जारी हुन सक्ने संकेत गरेको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार सनाखत सकिएपछि प्राप्त प्रमाणबारे आयोगका पदाधिकारीले छलफल गरेर यसबारे निर्णय लिनेछन् ।
‘आयोगका पदाधिकारीले सनाखत र प्रमाणलाई हेरेर निर्णय लिनुहुन्छ। निर्णय भएको खण्डमा आजै दल दर्ताको प्रमाणपत्र जारी हुने सम्भावना छ,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने।