१९ पदाधिकारीसहितको एक सय ५१ सदस्यीय केन्द्रीय कमिटी
प्रस्तावित नेकपा एकीकृत समाजवादीमा १९ पदाधिकारीसहितको एक सय ५१ जनाको केन्द्रीय कमिटी हुने विधान बनाइएको छ । जसअनुसार अध्यक्ष, वरिष्ठ नेता, सात उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव, सात सचिवसहित १९ जनाको पदाधिकारी हुनेछ । एक सय १५ पूर्ण र ३६ जना वैकल्पिकसहित एक सय ५१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । सबै तहमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । त्यस्तै, ५१ सदस्यीय पोलिटब्युरो र पदाधिकारीसहित २१ सदस्यीय स्थायी कमिटी हुने प्रस्ताव छ । प्रदेशमा अध्यक्ष, दुई उपाध्यक्ष, सचिव र दुई उपसचिवसहितको ६ सदस्यीय पदाधिकारी राख्ने प्रस्ताव छ ।
रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद
नेकपा एकीकृत समाजवादीलाई छोटकरीमा नेकपा (एस) भनिने विधानमा प्रस्ताव छ । पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद, राष्ट्रिय पुँजीको विकास गरेर सामाजिक न्याय र लोकतान्त्रिक मूल्य–मान्यतासहितको समाजवादका आधार निर्माण गर्नु यस पार्टीको तात्कालिक लक्ष्य रहेको विधानमा उल्लेख छ । हरेक पार्टी कमिटीको एउटा महत्वपूर्ण हिस्सामा ४० वर्षमुनिका युवालाई राखिने विधानमा प्रस्ताव गरिएको छ ।
ओलीबारे माधवका तीन विश्लेषण
१. ओली र केशरजंग रायमाझी उस्तै–उस्तै
पार्टीको दोस्रो महाधिवेशनमा जस्तै नवौँ महाधिवेशनबाट नीति माधव नेपाल समूहको, तर नेतृत्वमा भने केपी ओली निर्वाचित भएकै कारण पार्टी विभाजित भएको माधव नेपाल समूहले दाबी गरेको छ । ‘नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा दुईवटा महाधिवेशनबाट पार्टीको नीति अर्थात् कार्यदिशा एउटा पारित गर्ने, तर नेतृत्वमा भने महाधिवेशनबाट पारित नीतिको पक्षमा नरहेको व्यक्ति चयन गर्ने काम भयो । ती दुवै निर्णयले नेपाली कम्युनिस्ट आन्दोलनको एकतामा गम्भीर क्षति पुर्याएका छन् ।
पार्टीको दोस्रो महाधिवेशनले गणतन्त्रात्मक नीति पारित गरेको थियो भने नेतृत्वमा गणतन्त्रात्मक नीतिका विरोधीको टिमलाई छानेको थियो, जसले महाधिवेशनबाट पारित नीति कार्यान्वयन नगरी पार्टीलाई दक्षिणपन्थी दिशामा लगेको थियो र अन्ततः पार्टी विभाजित भएको थियो,’ प्रस्तावित घोषणापत्रमा छ, ‘नवौँ महाधिवेशनमा पनि त्यस्तै भयो । मुलुकलाई वैज्ञानिक समाजवादको दिशामा अगाडि बढाउने पार्टी नीति पारित गरेको त्यस महाधिवेशनबाट पार्टीको प्रमुख नेतामा त्यस नीतिका विरोधी व्यक्तिलाई चयन गर्यो, जसले महाधिवेशनका निर्णय बोक्दै बोकेनन् । अध्यक्षमा छानिएका केपी ओली महाधिवेशनप्रति इमानदार नै रहेनन् ।’
२. नेकपा विभाजनमा ओलीको भूमिका प्रमुख
ओलीकै कारण पार्टी विभाजित भएको पनि घोषणापत्रमा दाबी छ । ‘उनले महाधिवेशनका निर्णय पालना नगरी आपूmखुसी चल्ने काम गरेकाले पार्टीमा गम्भीर मतभेद उत्पन्न हुँदै गएका थिए । त्यसैबीच तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीच एकता गरी निर्माण भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्षका रूपमा रहँदा पनि केपी ओली पार्टीका नीति र विधिअनुसार कहिल्यै चलेनन्,’ घोषणापत्रमा छ, ‘मुलुकको प्रधानमन्त्रीसमेत रहेका उनले सरकार पनि पार्टी नीतिअनुसार चलाएनन् । फलतः पार्टीमा गम्भीर मतभेद र विवाद उत्पन्न भयो । उनले ०७७ पुस ५ मा असंवैधानिक ढंगले प्रतिनिधिसभाको विघटन सिफारिस गरेपछि उक्त विवाद चरमचुलीमा पुग्यो र तत्कालीन नेकपा राजनीतिक रूपले दुई भागमा विभाजित भयो ।’
३. ओलीले एमाले कब्जा गर्न खोजेपछि नयाँ पार्टी
ढोका बन्द गरेर आफ्नो सत्ता जोगाउनका लागि ओलीले सबैखालका गलत कदम चाल्नुभयो । पार्टीको नीति, सिद्धान्तविपरीत गएर काम गर्नुभयो । उहा“ दक्षिणपन्थी अवसरवादी भासमा भासिनुभयो । विभिन्नखालका दक्षिणपन्थी तत्वहरूसँग उहाँको गठबन्धन भयो । ओलीका कारण नेकपामा पनि दुई धार थिए । एउटा दक्षिणपन्थी अर्को क्रान्तिकारी धार । ओली पार्टीभित्रको क्रान्तिकारी धार समाप्त पार्न चाहनुहुन्थ्यो । अदालतको फैसलापछि ओलीले एमाले पार्टी कब्जा गर्न खोज्नुभयो । पार्टीलाई निजी कम्पनी बनाउनुभयो । पार्टीको ढोका बन्द र निष्कासनपछि विकल्प बा“की रहेन । इतिहासलाई साक्षी राखेर नया“ कदम चालेका छौँ । नेकपा (एकीकृत समाजवादी) बनाएका छौँ । पार्टी गठन गर्नेबित्तिकै पनि एकताको निम्ति तयार हुन्छौँ ।
१७ जनसंगठनका अधिकांश अध्यक्ष नेपालतिरै, पदाधिकारी बाँडिँदै

१७ वटा जनसंगठनमा समानान्तर कमिटी बनाएको नेपाल पक्षले ती संगठनका सबै अध्यक्षले प्रस्तावित नेकपा एकीकृत समाजवादीलाई साथ दिएको दाबी गरेका छन् । युवा संघ नेपालको दुई दिनअघिको पदाधिकारी बैठकले नेपालको नयाँ पार्टीलाई साथ दिने पहिलो निर्णय गरेको अध्यक्ष नरेश शाहीले सार्वजनिक गरेका थिए ।
त्यस्तै, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले पनि आफ्नो साथ नेपाललाई रहेको जानकारी गराएका छन् । तर, युवा संघकै उपाध्यक्ष क्रान्ति बुर्लाकोटी र कृष्णहरि केसीले भने मध्यमार्गी नेताहरूसँगै एमालेमै रहने सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । त्यस्तै, अनेरास्ववियुका उपाध्यक्ष लोकेश निरौलाले पनि मध्यमार्गी नेताहरूसँगै एमालेमै रहने जानकारी गराएका छन् ।
प्रेस चौतारीमा संयोजन गरिरहेका उपाध्यक्ष विश्वमणि सुवेदीले नेपाललाई समर्थन गरेका छन् भने महासचिव राजेश राईसहित केही पदाधिकारी भने मध्यमार्गी नेताहरूसँगै एमालेमा रहने गरी छलफलमा छन् । उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष गणेश विक, अनेमसंघकी अध्यक्ष जयन्ती राई, खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेल, जनसांस्कृतिक महासंघका अध्यक्ष कृपाराम धमला, किसान महासंघका अध्यक्ष बलराम बाँस्कोटा, जिफन्टका अध्यक्ष विष्णु लम्साललगायतले नेपालको नयाँ पार्टीलाई साथ दिने तयारी गरेको स्रोतको दाबी छ ।
माधव नेपालतिर लागेका सांसद
प्रतिनिधिसभा : १) माधवकुमार नेपाल, २) झलनाथ खनाल, ३) मुकुन्द न्यौपाने, ४) पार्वती बिसुंखे, ५) विरोध खतिवडा, ६) प्रेम आले, ७) कृष्ण श्रेष्ठ, ८) मेटमणि चौधरी, ९) लक्ष्मी चौधरी, १०) निरा जैरू, ११) भवानी खापुङ, १२) सोमप्रसाद पाण्डे, १३) कृष्णलाल महर्जन, १४) जीवनराम श्रेष्ठ, १५) पुष्पाकुमारी कर्ण कायस्थ, १६) सरला यादव, १७) कल्याणीकुमारी खड्का, १८) तुल्सी थापा, १९) माया न्यौपाने, २०) विना बुढाथोकी, २१) समिना हुसेन, २२) कलिला खातुन, २३) हिरा केसी।
राष्ट्रिय सभा : १) उदया शर्मा, २) ठगेन्द्रप्रकाश पुरी, ३) नन्दा चपाईं, ४) शेरबहादुर कुँवर, ५) शारदा भट्ट, ६) शान्तिकुमारी जिसी, ७) बेदुराम भुसाल, ८) वामदेव गौतम, ९) सिंहबहादुर विक ।