माधव नेपालको पार्टीले पनि जबज नै मान्ने

मंगलबार, ८ भदौ, २०७८
डिजिटल संस्करण

नवगठित नेकपा (एकीकृत समाजवादी)ले जनताको बहुदलीय जनवाद (जबज)का मूल्य, मान्यताको रक्षा गर्दै समाजवादको दिशामा अगाडि बढ्ने लक्ष्य निर्धारण गरेको छ। नेकपा (एमाले)बाट अलग भएको सो पार्टीका प्रस्तावित केन्द्रीय सदस्य र सांसदको चन्द्रागिरिमा भएको दुईदिने बैठकले पार्टीको विधान पारित गरेको हो। एमालेले जबजलाई मार्गदर्शक सिद्धान्त मान्दै आएको छ।

सो पार्टीको विधानमा पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद भएको उल्लेख गर्दै शोषण, उत्पीडन र विभेदकाे अन्त्य गर्दै समानतासहितको स्वतन्त्रतामा पुग्न सकिने उल्लेख गरिएको छ। विधानमा शान्तिपूर्ण संघर्ष र लोकतान्त्रिक विधिबाट मुलुकको आर्थिक–सामाजिक रूपान्तरणसहित राष्ट्रिय पुँजीको विकास गरेर सामाजिक न्याय र लोकतान्त्रिक मूल्य–मान्यतासहितको समाजवादका आधार निर्माण गर्नु पार्टीको तत्कालीन लक्ष्य रहेको जनाइएको छ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टीका अध्यक्ष माधवकुमार नेपालले गलत प्रवृत्ति, विचार र मूल्यविरुद्ध विद्रोह गर्दै नयाँ पार्टी गठन गरिएको बताए। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले एमालेको नेतृत्वले विधि, विधानको कुनै पालना नगरेको जनाउँदै विद्रोह गर्नुपरेको स्पष्ट पारे। राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेशबमोजिम यही भदौ २ गते सो दलले नयाँ दल दर्ताका लागि निवेदन दिएकाेमा भदौ ९ गते सनाखतका लागि निर्वाचन आयोगले समय तोकेको छ।

पार्टीको केन्द्रीय कमिटीमा एक अध्यक्ष, एक वरिष्ठ नेता, सात उपाध्यक्ष, एक महासचिव, सात सचिव गरी १७ पदाधिकारीसहित एक सय १५ पूर्ण तथा ३६ वैकल्पिक सदस्य गरी एक सय ५१ जना रहनेछन्।

सुझावित समाचार