बीचबाटैमा चार घन्टा रोकिदिएपछि किसान आन्दोलित
कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका क्षेत्रका किसानले आफैँले खोरमा पालेका ब्रोइलर कुखुरा बेच्नका लागि बजार ल्याउने क्रममा प्रहरीले अवरोध गरेको छ । तीनैतिर भारतको सिमानासँग जोडिएको उक्त नगरपालिकाबाट पूर्वतिर पर्ने भीमदत्त नगरपालिका बजारमा ल्याउँदा प्रहरीले अवरोध गरेको हो ।
नेपाली उत्पादनको भारतमा बजार नपाइने भएपछि कैयौँ सकसबीच किसानले पालेको कुखुरा महेन्द्रनगर बेच्न लैजाँदा इलाका प्रहरी कार्यालय दोधाराले अवरोध गर्दै आएको छ । सोमबार बिहानै इलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको नेपाल प्रहरीले हाकिमको आदेश भन्दै कुखुरा किसानलाई रोकिदिएको हो । मोटरसाइकलमा महेन्द्रनगर कुखुरा बेच्नका लागि ल्याउने क्रममा चार घन्टा कुखुरा रोकिदिएपछि किसान आन्दोलित भएका थिए ।
दुईपटक कोरोना महामारीका कारण व्यवसाय चौपट भएका किसानलाई प्रहरी सहयोगको साटो उल्टै तगारो बनेको भन्दै दोधारा–चाँदनीका किसान आन्दोलित भएका हुन् । उनीहरूले अन्य तस्करजस्तै आफूहरू किसानबाट समेत अवैध रकम असुल्न खोजेको भन्दै विरोध गरेका छन् । तस्करी भएको कुखुरा रोक्ने भए दोधारा–चाँदनी नगरपालिका भारतसँग जोडिएको सीमा क्षेत्रमा गएर रोक्नुपर्ने भन्दै किसानले प्रहरीलाई सुझाब दिएका छन् । शंका लागे खोरमै गएर छापा मार्न किसानको चुनौती छ । अन्य तस्करबाट रकम असुलेझैँ रकम असुल्ने उद्देश्य भए सो कार्य गैरकानुनी भएको किसानको टिप्पणी छ ।
दोधाराका कुखुरापालक किसान भरत भट्टले आफ्नै फर्म–खोरमा पालेका कुखुरा बेच्नका लागि बजार लैजाने क्रममा प्रहरीले अवरोध गरेको बताए । उनले बिहान चार बजे रोकिएको कुखुरा आठ बजे मात्रै छाडेको बताए । उनले भने, ‘हामी केही किसान गाउँमै उत्पादन गरेर यहाँ र महेन्द्रनगर बजारमा कुखुरा बेच्छौँ । प्रहरीले हामीप्रति तस्करको जस्तो व्यवहार गरेर घन्टौँ रोकिदियो ।’ कोरोना महामारीका कारण संकटमा परेका कुखुरा व्यवसायीलाई सहयोगको साटो प्रहरी तगारो बनेको उनको भनाइ छ ।
विगतमा भारतबाट तस्कर समूहले नेपालमा ल्याउने कुखुराका कारण वास्तविक कुखुरापालक नेपाली किसान मारमा परेको प्रसंग जोड्दै उनले तस्करी गर्नेमाथि डन्डा बजाउनसमेत सुझाब दिए । तर, पसिना बगाएका इमानदार किसानमाथि प्रहरीले गर्ने व्यवहार ठीक नभएको उनको तर्क छ । दोधारा–चाँदनीका कुखुरा व्यवसायी गोविन्द भट्टले प्रहरीका कारण कुखुरा व्यवसायी मारमा मात्र नभई व्यवसाय नै संकटमा परेको बताए । उनले अनेकौँ बहानाबाजी गरेर प्रहरीले जहाँ जता पनि दुःख दिँदै आएको बताए ।
किसानले प्रहरीविरुद्ध आन्दोलन गरेपछि सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री मानबहादुर सुनार र दोधारा–चाँदनीका मेयर वीरबहादुर सुनार अवरोध गरिएको स्थलमा पुगेर सहजीकरण गरेपछि प्रहरीले कुखुरा छाडेको थियो । राज्यमन्त्री र नगरप्रमुख सुनारद्वयसँग इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीका इन्चार्ज भरतराज गिरीले आफूहरूले रोकेको नभई नेपालबाट आएको चल्ला र भारत जान लागेको खुुकुराको वितरण भेरिफाई मात्रै गरेको बताएका थिए ।