सल्यानको बनगाड कुपिण्डे नगरपालिकाभित्रका स्थानीय सडक अवरुद्ध भएको दुई महिनासम्म सञ्चालनमा नआउँदा समस्या भएको छ । नगरपालिकाका ६ वटा वडाका विभिन्न बस्तीमा जाने सडक पूर्ण रूपमा बिग्रिएका छन् । सडक अवरुद्ध हुँदा सामाजिक सुरक्षा भत्ता बुझ्न लिन जान ज्येष्ठ नागरिकलाई समस्या भएको छ ।
विगत आठ महिनादेखि वृद्धभत्ता नपाएका बनगाड कुपिण्डे नगरपालिका– १२ का ७२ वर्षीय रेशमबहादुर खड्काले अहिले पनि वृद्धभत्ता लिन सकेका छैनन् । आन्तरिक विवादका कारण हालसम्म नगरसभा सम्पन्न गर्न नसकेको अवस्थामा आठ महिनापछि मात्रै नगरपालिकाले वृद्धभत्ता वितरण गर्न लागे पनि विगत दुई महिनादेखि बाटो अवरुद्ध हुँदा भत्ता लिन सल्लीबजारमा रहेको बैंकसम्म जान नसकेको उनले बताए ।
यस्तै, बनगाड कुपिण्डे नगरपालिका– २ की ७० वर्षीया मंगली बुढाका अनुसार पहिरोले ठाउँ–ठाउँमा सडक बिगारेको छ । ‘गाडी चल्दैनन्,’ उनले भनिन्, ‘पैदल हिँडेर बैंकसम्म जान सकिँदैन, अब गाडी खुलेपछि मात्रै भत्ता लिन जानुपर्ला ।’ उनले विगत दुई महिनादेखि गाउँमा बिरामी परेकालाई पनि स्वास्थ्य संस्थामा लैजान सास्ती भएको बताइन् ।
साल्चौर क्षेत्रमा वर्षाले सडक अवरुद्ध भएपछि एक महिनासम्म सो सडक अवरुद्ध वन्यो । धेरैपटक पालिकालाई नगरको जेसिबी पठाइदिन गरेको अनुरोध गरे पनि कुनै प्रतिक्रिया नआएको बनगाड कुपिण्डे नगरपालिका– १२ वडा अध्यक्ष गोविन्द डाँगीले बताए ।
निगाल्चुला जाने सडक सञ्चालन गर्न नगरपालिकालाई एक्स्काभेटर उपलब्ध गराइदिन एक महिनासम्म बारम्बार फोन गरे पनि नगरपालिकाले बेवास्ता गरेपछि वडाध्यक्ष डाँगीले व्यक्तिगत लगानीमा सडक सञ्चालन गरेको बताए । ‘असारको पहिलो साता बिग्रेका यहाँका सबै सडक सञ्चालन गर्ने सवालमा नगरपालिका बेखबर बनेपछि आफैँले सडक मर्मत गरेको छु,’ उनले भने ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढकालले हालसम्म नगर सभा सम्पन्न हुन नसक्दा समस्या भएको प्रतिक्रिया दिए । ‘नगर सभा बस्न नसक्दा रकम निकासा हुन सकेको छैन, इन्धन अभावलगायतका कारणले पनि भनेको समयमा विकास निर्माणका कामहरू हुन सकेका छैनन्,’ उनले भने । नगर सभा सम्पन्न नहुँदासम्म काम गर्न समस्या भएको उनको भनाइ छ ।