गल्लीभरि मोटरसाइकलकै लस्कर। कुनै भर्खर किनेझैँ टल्कने छन्, कतिपय वर्षौँ पुराना थोत्रा। सडकमा ज्यादै गुडेका र महँगा–महँगा यी मोटरसाइकल एकैठाउँ देख्दा लाग्छ, यो त मोटरसाइकलको ठूलै शो रूम पो हो कि !
रामशाहपथस्थित ट्राफिक प्रहरी कार्यालय भवनपछाडि गल्लीको पार्किङमा नयाँ–पुराना गरी दुई सय हाराहारी मोटरसाइकल छन्। सडकमा गुड्नलायक मोटरसाइकल यहाँ थन्किएको सात वर्ष भयो। करिब एक अर्ब मूल्यभन्दा बढीका यी मोटरसाइकल बुझ्न सम्बन्धित व्यक्ति आएका छैनन्।
प्रहरी प्रधान कार्यालयका अनुसार यसरी नियन्त्रणमा लिइएका सात सय २३ वटा मोटरसाइकल देशभरका ट्राफिक प्रहरी कार्यालयहरूमा थन्किएका छन्। त्यसमध्ये उपत्यकामा दुई सयभन्दा बढी मोटरसाइकल छन्। यी मोटरसाइकल करिब दुईदेखि सात वर्षसम्म ट्राफिक प्रहरी कार्यालयमा राखिए पनि सम्बन्धित व्यक्ति लिन आएका छैनन्।
पार्किङमा राखिएका मोटरसाइकल ट्राफिक कारबाहीका क्रममा समातिएका हुन्। ट्राफिकले झिनो कारबाहीका लागि नियन्त्रणमा लिएका मोटरसाइकल फिर्ता लैजान अधिकांश व्यक्ति आउँदैनन्। कतिपय पाँच हजार जरिवाना तिर्न आउँदैनन्। ट्राफिक कारबाहीमा परेर मोटरसाइकलको माया मारेका उदाहरण पनि ट्राफिक प्रहरीकहाँ धेरै छन्। ब्लु बुक र सवारीचालक अनुमतिपत्र नहुने त झन् ट्राफिकले एकपटक नियन्त्रणमा लिएको आफ्नो मोटरसाइकल लिन फर्केर जाँदैनन्।
ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जीव शर्मा दासले सामान्य कारबाहीबाट बच्न चालकहरू महँगो मोटरसाइकल लिन नआएको बताए। उनले भने, ‘कसैको ब्लु बुक हुँदैन, कसैको लाइसेन्स छैन,’ उनले भने, ‘कतिपयले त १० वर्षसम्म ब्लुबुक नवीकरण गरेका हुँदैनन्, उनीहरू ट्राफिक कारबाहीमा परे भने मोटरसाइकलको माया नै मारेर बस्छन्।’ यसबाहेक कतिपयले सामान्य कारबाही पर्दा पनि मोटरसाइकल लिन नआउने गरेको उनको भनाइ छ।
महाशाखाका प्रवक्ता दासले सम्बन्धित व्यक्ति लिन आएपछि मात्रै मोटरसाइकल जिम्मा लगाइने बताए। नआएसम्म त्यो मोटरसाइकल कार्यालयमै राखिने उनको भनाइ छ। ‘हामीले अरूको सम्पति चलाउन मिल्दैन, कागजात लिएर आउनेबित्तिकै मोटरसाइकल जिम्मा लगाउँछौँ, तर जरिवानाचाहिँ कारबाहीमा परेका सबैले तिर्नैपर्छ,’ महाशाखाका प्रवक्ता दासले भने, ‘सामान्य कारबाहीमा परेकाहरू त्यति महँगो मोटरसाइकल लिन नआउँदा अचम्म लाग्छ।’
उनका अनुसार ‘लोन’मा किनेको मोटरसाइकलको ऋण तिर्न नसक्दा कतिपयले सडकमै लगेर छाड्ने गरेका छन्। कतिपयले बिमाको लोभमा पनि केही समय चलाएर मोटरसाइकल बाटोमै छाडेर हिँड्छन्।
‘फुल इन्स्योरेन्स’ गरेपछि हराएमा अर्को नयाँ मोटरसाइकल पाइने भएपछि कतिपयले जानाजान मोटरसाइकल हराउँछन्। त्यस्तै, मोटरसाइकल पुरानो भइसकेपछि नयाँ किन्नलाई बिमाको पैसा आउने लोभमा पनि मोटरसाइकल छाडेर हिँड्नेहरू छन्। दास भन्छन्, ‘अहिले हराएका मोटरसाइकल भेटिने क्रम पनि बढेको छ, चोरी भयो भनेर रिपोर्ट गर्न आउनेको संख्या धेरै छ, तर सडकमा समातिएका मोटरसाइकल लिन धेरैजसो आउँदैनन्।’ सडक, चोक, गल्ली, चउर, जंगलजस्ता ठाउँबाट मोटरसाइकल नियन्त्रणमा लिने गरेको छ। कतिपय मोटरसाइकल बेवारिसे अवस्थामा पनि फेला पर्छन्।
ट्राफिक कारबाहीका क्रममा प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएर कागजात मागे पनि अधिकांशको कागजात भेटिँदैन। त्यसपछि प्रहरीले चिट काट्छ। ब्लुबुक र लाइसेन्स नहुनेको मोटरसाइकल नियन्त्रणमा लिन्छ। कारबाहीमा परेर प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएपछि पैसा तिरेर मोटरसाइकल फिर्दा लैजान कतिपय आउँदैनन्।

पार्किङबाट उठाएका मोटरसाइकलसमेत लिन आउँदैनन्
काठमाडौं महानगरपालिकाले पार्किङ निषेधित क्षेत्रमा रोकिएका सवारीसाधन नियन्त्रणमा लिन्छ। महानगरकै ट्रकमा राखेर मोटरसाइकल ट्राफिक प्रहरी महाशाखामा पु¥याउँछ। त्यहाँ ल्याएर मोटरसाइकलको नम्बर टिप्छ। सवारीधनी आएर सवारीसाधनको कागजात देखाई जरिवाना शुल्क तिरेपछि मात्रै मोटरसाइकल लैजान पाउँछन्।
तर, महानगरले पार्किङबाट उठाएका मोटरसाइकल लिनसमेत नआउनेहरू छन्। ‘निषेधित ठाउँमा पार्किङ गरिराखेका मोटरसाइकल सबैभन्दा बढी नियन्त्रणमा लिने गरेका छौँ,’ महाशाखाका इन्स्पेक्टर इन्द्रजित इटानीले भने, ‘महानगरले उठाएर ल्याएका मोटरसाइकल लिनसमेत आउँदैनन्, त्यस्ता मोटरसाइकल पनि हाम्रो पार्किङमा छन्।’
न त प्रहरीले प्रयोग गर्न पाउँछ,न त बेच्न
प्रहरी कार्यालयमा बिनाप्रयोग थन्किएर बसेका मोटरसाइकल प्र्रहरीले प्रयोग गर्न र बेच्न पाउँदैन। मोटरसाइकलधनी पनि खोज्दै नआउने र भेटिएको मोटरसाइकल प्रयोग तथा बेच्न नपाउँदा प्रहरी कार्यालयहरूमा त्यस्ता मोटरसाइकलको संख्या धेरै छ।
पूर्वट्राफिक प्रहरी सीताराम हाछेंथुका अनुसार प्रहरी कार्यालयमा थन्किएका मोटरसाइकल यत्तिकै थोत्रिँदै जाने हुन्। कसैले प्रयोग गर्न नपरेपछि तिनलाई थन्क्याएर राख्नुको कुनै अर्थ नहुने उनको भनाइ छ। बरु त्यसलाई कुनै एउटा नियम बनाएर कार्यालयमै प्रयोग गर्न पनि सकिने उनले बताए। प्रयोग पनि गर्न नपाइने, बेच्न पनि नपाइने र सम्बन्धित सवारीधनी पनि नआउँदा हजारौँ मोटरसाइकल प्रहरी कार्यालयहरूमा थन्किएको सीतारामले जानकारी दिए।
‘प्रहरी कार्यालयहरूमा राखिएको मोटरसाइकल लिन नआउनुको कारणहरू धेरै छन्,’ उनले भने, ‘कागजातविना मोटरसाइकल चलाउने, दुर्घटना गराएर भाग्ने, बिमा र मोटरसाइकल किन्दाको किस्ता रकम नतिर्नेजस्ता कारणले पनि धेरैजसो ट्राफिकले समातेको मोटरसाइकल लिन आउँदैनन्।’
उनले ट्राफिकले समातेको यति वर्षभित्र चालक आफ्नो सवारी लिन नआए सवारी जफत वा लिलाम हुने नियम बनाउन आवश्यक रहेको बताए। यस्तो नियम बनाउँदा यदि सवारीधनी लामो समयसम्म पनि आफ्नो सवारी लिन नआए त्यसलाई सरकारी निकायले बेच्न वा प्रयोग गर्न पाउने उनको भनाइ छ।
चोरीका मोटरसाइकल भेटिनेक्रम बढ्यो
ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्लो समय मोटरसाइकल चोरीका घटना बढेको छ। उत्तिकै मात्रामा हराएका मोटरसाइकल पनि भेटिएका छन्। मोटरसाइकल हराएपछि जतिछिटो खबर गरिन्छ त्यति नै छिटो मोटरसाइकल भेटिने प्रहरीको भनाइ छ। पछिल्लो समय पार्किङस्थलबाट धेरै हराउँछन्। महाशाखाले वैशाखयता एक सय सय ८५ वटाभन्दा बढी हराएका मोटरसाइकल फेला पारेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार तीन वर्षयता चार सयभन्दा बढी मोटरसाइकल हराएका छन्। पीडितले दिएको सूचनाका आधारमा ट्राफिकले हराएका मोटरसाइकल खोज्छ। यसबाहेक महाशाखामा हराएका मोटरसाइकल खोजी गर्ने विशेष टिम छ।
कसरी हराउँछ मोटरसाइकल ?
ट्राफिक प्रहरीका अनुसार मोटरसाइकल हराउनुको मुख्य कारण कमजोर ‘ह्यान्डिल लक’ भएर हो। कतिपयले मोटरसाइकल पार्किङ गर्दा ह्यान्डिल लक गर्न भुल्दा पनि मोटरसाइकल चोरी हुने गरेका छन्।

तर, अधिकांश मोटरसाइकल ह्यान्डिल लक बलियो नभएका कारण हराउने गरेको पूर्वट्राफिक प्रहरी हाछेंथुले जानकारी दिए। उनका अनुसार अधिकांश मोटरसाइकलको ह्यान्डिल लक निकै फितला र कमजोर हुन्छ। ह्यान्डिललाई जोडले बटार्दा पनि भाँचिन्छ। यसो हुनुको कारण ह्यान्डिल लक राम्रो नहुनु हो। सामान्य तरिकाले तोड्न सकिने भएकोले चोरी हुने क्रम बढेको हो।
उनले भने, ‘मोटरसाइकल हराउनुमा ह्यान्डिल लककै समस्या हो, कम्पनीले ह्यान्डिल लक अलि बलियो राख्यो भने यो समस्या हल हुन सक्छ।’
गाउँगाउँ पुर्याइन्छन् चोरीका मोटरसाइकल
सहरी इलाकामा मोटरसाइकल हराउने क्रम बढेपछि प्रहरीले सर्वत्र खोजी कार्य बढायो। खोज्दै जाँदा सहरमा चोरी भएका मोटरसाइकल ग्रामीण क्षेत्रमा भेटिए। अधिकांश मोटरसाइकल पूर्वीतराईका जिल्लाहरूमा पुर्याइएको भेटिएको छ।
सहरबाट मोटरसाइकल चोरेर गाउँमा लैजाने क्रम बढेपछि प्रहरीले ग्रामीण सडकहरूमा पनि चेकजाँच बढाएको महाशाखामा प्रवक्ता दासले जानकारी दिए। उनका अनुसार सहरमा हराएका मोटरसाइकल गाउँगाउँमा पुगेर खोज्दा फेला परेका छन्। ती मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरेर चलाइन्छ। कतिपयले सहरबाट मोटरसाइकल चोरी गरेर गाउँमा लगेर सस्तोमा बेच्ने धन्दासमेत थालेको प्रहरीको बुझाइ छ।
‘ग्रामीण सडकमा ट्राफिक जाँच हुँदैन भनेर सहरका मोटरसाइकल त्यस्ता क्षेत्रमा पुर्याएको भेटियो,’ प्रवक्ता दासले भने, ‘सहरमा मोटरसाइकल हराउँदा गाउँ पुगेर खोज्नुपर्ने अवस्था छ।’