- चौथाइवाले यसअघि मंसिर तेस्रो साता काठमाडौं आएका थिए । त्यसवेला उनको भ्रमणको समन्वय एमाले नेता विष्णु पौडेलले गरेका थिए । ५ र ६ कात्तिकमा रअका प्रमुख सामन्तकुमार गोयल, १९ र २० कात्तिकमा भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरभणेले नेपाल भ्रमण गरेका थिए ।
- यसैगरी ११ र १२ मंसिरमा भारतीय विदेशसचिव हर्षवद्र्धन शृंगला र २४ मंसिरमा भाजपा विदेश विभाग प्रमुख चौथाइवाले काठमाडौं आएका थिए । उनी फर्केपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन दिल्ली गएका थिए । अहिले नौ महिनापछि चौथाइवाले कांग्रेसको निमन्त्रणामा आएका छन् ।
चारदिने अनौपचारिक भ्रमणमा आएका भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले आइतबार कांग्रेस प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । कांग्रेस सभापतिका हैसियतमा भेटवार्ता भएको हो । भाजपा र नेपालका प्रमुख दलहरूबीच सम्बन्ध विस्तारका सिलसिलामा कांग्रेसको निमन्त्रणामा चौथाइवाले आइतबार नै काठमाडौं आएका हुन् । उनी नौ महिनाअघि पनि एमालेको निमन्त्रणामा काठमाडौं आएका थिए । एमालेका तर्फबाट उपमहासचिव विष्णु पौडेलले उनलाई निमन्त्रणा गरेका थिए । यसपटक कांग्रेसका तर्फबाट सहमहामन्त्री डा. प्रकाशशरण महतले निमन्त्रणा गरेका हुन् ।
चौथाइवालेलाई अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए । काठमाडौं पुगेलगत्तै उनले सुरुमा पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस सहमहामन्त्री महतसँग छलफल गरेका थिए । त्यसपछि प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर उनले देउवासँग भेटवार्ता गरे ।भेटवार्तामा दुई देशका विषयहरूमा कम, तर दुई पार्टीबीच सम्बन्ध विस्तारबारे धेरै कुराकानी भएको डा. महतले बताए । चौथाइवालेले देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष जगतप्रकाश नड्डा र आफ्नो बधाई सुनाएका थिए । दुई देशबीच निरन्तर संवाद रहेको र संवादमार्फत समाधान हुन बाँकी भएका विषयहरू टुंग्याउनुपर्ने विषयमा छलफल भएको थियो ।
‘दुई देशका विषयहरू सामान्य जिज्ञासाका रूपमा मात्रै उठे, कांग्रेस र भाजपाको सम्बन्ध आगामी दिनमा सुमधुर बनाएर लैजाने विषयमा नै बढी केन्द्रित भएर छलफल भयो,’ पूर्वपरराष्ट्रमन्त्री महतले भने । देउवा प्रधानमन्त्री भएपछि भारतबाट आएका उनी सबैभन्दा उच्चस्तरीय नेता हुन् । भेटवार्तापछि चौथाइवालेले दुई पार्टीबीच संवाद थप सुदृढ गर्ने विषयमा छलफल भएको र आफूले प्रधानमन्त्री देउवालाई जनैपूर्णिमा र रक्षाबन्धनका अवसरमा शुभकामना दिएको ट्विटरमा उल्लेख गरेका छन् । पूर्वपरराष्ट्रमन्त्री महतले पनि ट्विटरमा यो भेटघाटलाई नयाँ सुरुवात भएको टिप्पणी गरेका छन् । ‘नेपाली कांग्रेस भारतीय जनता पार्टीसँग सम्बन्ध सुदृढ गर्न प्रतीक्षारत छ,’ महतले लेखेका छन्, ‘म विश्वस्त छु कि यो बैठक यसका लागि नयाँ सुरुवात भएको छ ।’
दुई देशका समसामयिक विषयमा धेरै छलफल नभएको महतले बताए । ‘कतिपय विषय जिज्ञासाका रूपमा उठे, तर यो भेटवार्ता पार्टीगत सम्बन्धमा केन्द्रित भयो । दुई देशसँग सम्बन्धित विषयहरूमा सरकारी तवरमै छलफल हुन्छ,’ महतले भने, ‘एक–अर्कालाई बुझ्ने विषयमा बढी छलफल भयो । प्रधानमन्त्रीले पनि भाजपासँगको सम्बन्धलाई कांग्रेसले महत्व दिएको बताउनुभयो । कुराकानी असाध्यै राम्रो भएको छ ।’
कांग्रेस सभापति देउवाले दुई देशबीच सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै कांग्रेस र भाजपाबीच सम्बन्ध नयाँ उचाइमा पुर्याउनुपर्नेमा जोड दिएका थिए । ‘राजनीतिक पार्टीको तहमा भ्रमण आदानप्रदान गरौँ, अनुभव आदानप्रदान गरौँ । कांग्रेस भाजपासँग सहकार्य गर्न तयार छ,’ महतका अनुसार सभापति देउवाको भनाइ थियो । देउवाले पार्टीको आसन्न महाधिवेशनबारे पनि बताएका थिए । महाधिवेशनमार्फत कांग्रेसले उन्नत प्रजातान्त्रिक अभ्यास गर्न लागेकोमा जोड दिएका थिए । बुधबारसम्म काठमाडौंमा रहने चौथाइवालेले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
नौ महिनापछिको भ्रमण
चौथाइवाले यसअघि मंसिर तेस्रो साता काठमाडौं आएका थिए । त्यसवेला उनको भ्रमणको समन्वय एमाले नेता विष्णु पौडेलले गरेका थिए । ५ र ६ कात्तिकमा रअका प्रमुख सामन्तकुमार गोयल, १९ र २० कात्तिकमा भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरभणेले नेपाल भ्रमण गरेका थिए । यसैगरी ११ र १२ मंसिरमा भारतीय विदेशसचिव हर्षवद्र्धन शृंगला र २४ मंसिरमा भाजपा विदेश विभाग प्रमुख चौथाइवाले काठमाडौं आएका थिए । चौथाइवाले फर्केपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन दिल्ली गएका थिए । नौ महिनापछि चौथाइवाले कांग्रेसको निमन्त्रणामा आएका हुन् ।
चौथाइवालेले १३ असारमा नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल को–अपरेसन एन्ड इन्गेजमेन्ट (निस नेपाल)को वेविनारमा नेपालका दलहरूसँग भाजपाले निरन्तर संवाद राख्ने बताएका थिए । चौथाइवालेले फरक वैचारिक राजनीतिक धरातल भएका भए पनि नेपाली राजनीतिक दलहरूले भाजपासँग संवाद गर्ने इच्छा व्यक्त गरेको बताएका थिए । ‘नेपाल र भारतबीच राजनीतिक दलहरूको तहमा लामो समयदेखि संवाद हुन सकेको छैन । पछिल्लो नेपाल भ्रमणका वेला मैले नेपालका नेताहरूसँग छलफलमा यसबारे मैले छलफल गरेको छु,’ चौथाइवालेको भनाइ थियो, ‘राजनीतिक छलफल र आदानप्रदानले एक–अर्को मुलुकलाई बुझ्न, असमझदारी हटाउन मद्दत पुग्छ र यसले दुवै मुलुकलाई फाइदा हुन्छ । भाजपा नेपालका सबै पक्षसँग राजनीतिक संवाद गर्न चाहन्छ ।’