सिंहदरबारस्थित सभामुख अग्नि सापकोटाको कार्यालयमा धर्ना दिन गएका नेकपा एमालेका सांसदहरू फर्किएका छन्। सभामुख सापकोटा कार्यालय नआउने भएपछि सांसदहरू फर्किएका हुन्।
शुक्रबार १४ सांसदलाई पदमुक्त गरेको सूचना जारीको माग गर्दै एमाले सांसद सिंहदरबारबाट पुगेका थिए। सभामुख सापकोटाले आफू व्यस्त भएको भन्दै कार्यालय नआउने जानकारी गराएपछि सांसदहरू फर्किएका हुन्। कार्यव्यस्तता देखाएर सभामुख जिम्मेवारीबाट भागेको आरोप एमाले सचेतक शान्ता चौधरीले सभामुख लगाएकी छिन्।
‘उहाँले २४ घन्टाभित्र यसलाई टुंगोमा पुर्याउने बताउनुभएको थियो,’ उनले भनिन, ‘अहिले कार्यव्यस्तता देखाएर भाग्नुभयो। हामी नियमित विरोध कार्यक्रमलाई निरन्तरता दिन्छौँ ।’
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदलाई पदमुक्त गरेको सूचना जारी गर्न माग गर्दै सभामुखलाई दबाब दिन महेश बस्नेत, खगराज अधिकारी, लालबाबु पण्डितलगायतका सांसद सिंहदरबार पुगेका थिए। सूचना जारी गर्न ढिलाइ भए धर्ना बस्नेसम्मको चेतावनी सांसदहरूले दिएका छन्।