सरकारले बागमती प्रदेशको प्रमुख परिवर्तन गरेको छ । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादव शर्मालाई नियुक्त गर्न मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको छ ।
प्रदेश प्रमुख सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त र पदमुक्त गर्ने व्यवस्था छ ।
सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नती गरी प्रधान सेनापति पदमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार बैठकले ७ भदौमा गाइजात्रामा उपत्यकामा सार्वजनिक बिदासँगै देशभरका नेवार समुदायका लागि पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
यस्तै १४ भदौमा श्रीकृष्ण जन्मष्टमी पर्वमा पनि सार्वजनिक बिदा दिने निर्णय गरेको उनले बताए ।
बैठकले काठमाडौं–तराई मधेश द्रुतमार्ग आयोजनाका लागि आवश्यक रहेका विभिन्न सहायक संरचनाहरुको निर्माण गर्न मकवानपुर जिल्लाका कालभैरव सामुदायिक वन र गौरीशंकर सामुदायिक वनमा ५.२२ हेक्टर थप वन क्षेत्र प्रयोग गर्न र त्यहाँ रहेका रुखहरु हटाउन स्वीकृति दिने निर्णय पनि गरेको छ ।