घर भाडामा लिई यौन व्यवसाय सञ्चालन, प्रहरीद्वारा सातजना पक्राउ

बिहिबार, ३ भदौ, २०७८
डिजिटल संस्करण

अवैध यौनधन्दा चलाएको पाइएपछि ललितपुरको पुल्चोकस्थित कान्तिपुर हाइटमा रहेको एक अपार्टमेन्टमा प्रहरीले छापा हानेको छ। भवन भाडामा लिई केही युवतीलाई त्यहीँ राखेर लामो समयदेखि यौन व्यवसाय सञ्चालन गरेको भेटिएपछि महानगरीय प्रहरी परिसर ललितपुरले उक्त अपार्टमेन्टमा छापा हानेको हो।

विशेष सूचनाका आधारमा मंगलबार साँझ प्रहरी उक्त अपार्टमेन्ट पुगेको थियो। सोही क्रममा पेसेवर तवरले नै यौनधन्दा सञ्चालन गरेको पाइएपछि छापा हानेको परिसर प्रमुख किरण बज्राचार्यले जानकारी दिइन्। उनका अनुसार भवनका चारवटा कोठा भाडामा लिएर यौन व्यवसाय सञ्चालन गरेको भेटिएको छ। कोठाबाट यौनसम्पर्कका लागि आएका ग्राहकहरूको ठेगानासहितको लेजरबुक पनि फेला परेको छ।

यौन व्यवसायमा संलग्न झापा घर भई हाल ढल्कु बस्ने राजेश अग्रवाल, रुकुम घर भई हाल कुमारीगाल बस्ने ललिता विक, बर्दिया घर भई हाल नारायणथान बस्ने सुनील विष्ट, मकवानपुर घर भई हाल पाटन सुन्धारा बस्ने गीता खड्गी, बालाजु बस्ने क्रिष्टिना केसी, सिन्धुपाल्चोक घर भई हाल काँडाघारी बस्ने निर्मला न्यौपाने र पनौतीका प्रतीक कर्माचार्यलाई प्रहरीले उक्राउ गरेको छ।

उनीहरूलाई सात दिनको म्याद थप गरी परिसरको हिरासतमा राखिएको छ। ‘सहरको बीचमा यसरी यौन व्यापार भइरहेको थाहा पायौँ, त्यहाँ पुगेर अनुसन्धान गर्दा निकै पहिलेदेखि नै यौन व्यवसाय सञ्चालन गरेको भेटियो,’ उनले भनिन्।

सुझावित समाचार