रसुवाको नौकुण्ड गाउँपालिका– ५ कोलडाँडामा पहिरोले घर पुरिँदा एकजना घाइते भएका छन् भने चारजना बेपत्ता भएका छन् । स्थानीय ३६ वर्षीय श्यामबहादुर गलान तामाङको घर पुरिँदा तामाङ घाइते भएका छन् ।
उनी घरबाहिर सुतेको र घाइते अवस्थामा स्थानीयले उद्धार गरी उपचारका लागि नुवाकोट पठाउने तयारी गरिरहेको प्रहरीले जनाएको छ । उनका श्रीमती, दुई छोरी र एक छोरा घरभित्र सुतेको हुँदा अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए ।
कृषि सडकको डिल भत्किएर घर पुरिएको जानकारी आएको उनले बताए । घटनाबारे बिहान साढे ५ बजे जानकारी पाएलगत्तै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली अहिले घटनास्थलतर्फ प्रस्थान गरेको उनले बताए । घटनास्थलतर्फ जाने बाटो सबै बिग्रिएकाले कालिकास्थानबाट डोजर लिई बाटो खुलाउँदै घटनास्थलतर्फ गइरहेको उनको भनाइ छ ।