भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एसियाको सबैभन्दा तीव्रतम जलवायु लक्ष्य हासिल गर्ने देश भारत रहेको बताएका छन् । उनले जी– २० मुलुकमध्ये यो लक्ष्य हासिल गर्ने मुलुक भारत रहेको दाबी गरेका छन् । भारतले वातावरणीय सुरक्षालाई राष्ट्रिय सुरक्षाको अभिन्न अंग बनाएको पनि प्रधानमन्त्रीको जिकिर छ ।
‘हामी जी– २० मुलुकमध्ये सबैभन्दा तीव्रतम गतिमा जलवायु लक्ष्य पूरा गर्नेतर्फ अघि बढेका छौँ,’ मोदीले स्वतन्त्रता दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा भने, ‘हाम्रा लागि वातावरणीय सुरक्षा, राष्ट्रिय सुरक्षाको एक महत्वपूर्ण पक्ष हो । हामी यो लक्ष्य हासिल गर्न निरन्तर क्रियाशील छौँ ।’
मोदीले भारतमा रेलमार्गहरूलाई सम्पूर्ण रूपमा विद्युतीकरण गर्ने कामको प्रगति उल्लेखनीय रूपमा हासिल भएको पनि जिकिर गरेका छन् । यसलाई उनले इलेक्ट्रिक मोबिलिटीमा भारत अघि बढेको उल्लेख गरेका छन् । ‘सन् २०३० सम्म भारतीय रेल्वे शून्य कार्बन उत्सजर्कका रूपमा स्थापित हुनेछ,’ मोदीले भनेका छन् ।
भारतले जैविक विविधता संरक्षण, फोहोरमैला व्यवस्थापन, अर्ग्यानिक कृषि उत्पादनलगायतमा उल्लेखनीय प्रगति हासिल गरेको पनि उनको जिकिर छ । भारतले केही वर्षयता वन क्षेत्र विस्तार गरेको, राष्ट्रिय निकुन्जहरू थपिएको, बाघ र सिंहको संख्यामा उल्लेखनीय वृद्धि हासिल गरेको पनि मोदीको भनाइ छ ।
‘भारत अब ऊर्जामा आत्मनिर्भर हुनेतर्फ अघि बढेको छ,’ मोदीले भनेका छन्, ‘स्वतन्त्रताको सय वर्ष अर्थात् अबको २५ वर्षमा भारत ऊर्जा क्षेत्रमा आत्मनिर्भर बन्ने बाटोमा अघि बढेको छ । ऊर्जा आयातमा भारतले अहिले वार्षिक १२ लाख करोड रुपियाँ खर्च गरिरहेको छ ।’ मोदीले यो दशकको अन्तिम (सन् २०३० ) सम्म चार सय ५० गिगावाट ऊर्जा उत्पादन गर्ने लक्ष्य लिइएको पनि उल्लेख गरेका छन् । अहिलेसम्म भारतले एक सय गिगावाट ऊर्जा उत्पादन गरेको छ ।