महत्वपूर्ण बिजनेस नपाईकन सकियो संसद् अधिवेशन

सोमबार, ३२ साउन, २०७८
डिजिटल संस्करण

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि बसेको पहिलो अधिवेशन अन्त्य भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रिपति विद्यादेवी भण्डारीले चालू अधिवेशन अन्त्य गरेकी छन्। पुनर्स्थापना भएको ३५ दिनमा नाै दिन मात्र संसद् बस्यो। १० वटा बैठकमा जम्मा २० घन्टा १५ मिनेट संसद् चल्यो। 

पुनर्स्थापित प्रतिनिधिसभाका अधिकांश बैठकहरू औपचारिकतामै सीमित रहे। सदनलाई तत्काल महत्वपूर्ण बिजनेस दिने काममा शेरबहादुर देउवा सरकार पनि अगाडि सरेन। अघिल्लोपटक (११ फागुन ०७७) प्रतिनिधिसभा पुनर्स्थापना हुँदा सदनको जस्तो हालत देखियो यसपटक पनि त्यही अवस्था रह्यो। 

फरक यति मात्र हो त्यतिवेला केपी ओली नेतृत्वको सरकार थियो। ओली सरकारले दुईपटक प्रतिनिधिसभा विघटन गरेको थियो। सोही विघटनलाई प्रतिगमन भनेर विरोध गर्ने तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अहिले सत्तामा छ। कांग्रेसका सभापति देउवा यसपटक प्रधानमन्त्री छन्। तर, प्रतिनिधिसभाले त्यतिवेला पनि बिजनेस पाएको थिएन, अहिले पनि अवस्था त्यही देखियो। 

अहिले संसदबाट तत्काल पारित हुनुपर्ने महत्वपूर्ण विधेयकहरू विचाराधीन अवस्थामा छन्। जसमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ पर्छन्। संघीय निजामती विधेयक नबनेका कारण प्रदेशको कर्मचारीतन्त्र अप्ठ्यारोमा छ भने नागरिकता विधेयक सदनमै अड्किएका कारण ‘नागरिकताविहीन नागरिक’हरूले बिचल्ली भोग्नुपरेको छ। तर, यसमा देउवा सरकारले तत्परता देखाएन।

आठौँ अधिवेशनमा भएका कामकारबाही

- यस अधिवेशनमा ‘आर्थिक अध्यादेश, २०७८’, ‘राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८’, ‘विनियोजन अध्यादेश, २०७८’, ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’, ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’, ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८’, ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८’, ‘नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८’, ‘कोभिड– १९ संकट व्यवस्थापन अध्यादेश, २०७८’, औषधप (तेस्रो संशोधन) अध्यादेश, २०७८’, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८’, ‘रेल्वे अध्यादेश, २०७८’ र ‘शपथसम्बन्धी अध्यादेश, २०७८’ एवं सातौँ अधिवेशनमा दर्ता भएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७’ सदनमा प्रस्तुत मात्र भए भने सातौँ अधिवेशनमा नै दर्ता भएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ मिति २०७८ साउन ३ गतेको प्रतिनिधिसभाको बैठकमा नेपाल सरकारबाट फिर्ता भएको जानकारी गराइएको थियो ।

- प्रतिनिधि सभाको चालू अधिवेशनमा कुनै पनि नयाँ विधेयक दर्ता भएन भने राष्ट्रिय सभामा उत्पत्ति भई पारित भएर आएका सातवटा विधेयकहरूसम्बन्धी उक्त सभाको सन्देशको जानकारी सभामा गराइएको थियो । त्यसैगरी यस  अधिवेशनमा सभाका अघिल्ला अधिवेशनहरूबाट विभिन्न चरणमा रहेका जम्मा ३७ वटा विधेयकहरू संसदमा आएका थिए । जसमध्ये ‘कारागार विधेयक, २०७६’ का सम्बन्धमा सम्बन्धित समितिबाट सभामा प्रतिवेदन पेस भएको छ ।

- मिति २०७८ साउन ३ गतेको दोस्रो बैठकमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको धारा ७६ को उपधारा (६) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न विश्वासको मतको लागि राखेको प्रस्तावलाई मत विभाजन गरी निर्णयार्थ प्रस्तुत गर्दा प्रस्तावको पक्षमा जम्मा एक सय ६५ मत परेकोले बहुमतबाट विश्वासको मत प्राप्त गरेका थिए। 

- यस सभाको विभिन्न मितिमा बसेको बैठकमा जम्मा एक सय ८२ जना सदस्यहरूले शून्य समयमा र जम्मा ५८ जना सदस्यले विशेष समयमा समसामयिक विषयहरूमा आ–आफ्नो भनाइ  राखेका थिए। 

- यस अधिवेशनमा ‘महालेखा परीक्षकको ५७औँ वार्षिक प्रतिवेदन, २०७७’, ‘निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७’, नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको ‘नेपाल सकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७६/०७७’ र ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७६/०७७’ पेस गर्ने कार्य सम्पन्न भएको थियो।

- चालू अधिवेशनमा संविधान सभा सदस्यहरू मोहम्मदी सिद्दिकी, शिवबहादुर खड्का, रबनी चौधरी, पशुपति चौलागाईं र तप्तबहादुर विष्ट एवं पूर्वसदस्यहरू मोतीप्रसाद पहाडी, विदुर पौडेल, योगनारायण यादव, रत्नप्रसाद शर्मा, हरिभक्त अधिकारी, कृष्णसिंह परियार, विष्णुबहादुर तामाङ (बिएल वाइवा) र अकबरबहादुर सिंहको निधन भएकोमा शोक प्रस्तावहरू पारित भएका छन् ।

- यसै अवधिमा सदनको मिति ०७८ साउन १९ गतेको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर बेपत्ता भएका जयसिंह धामीको खोजीकार्यको सम्बन्धमा, धनुषा जिल्लामा पल्टु रविदासको हिरासतमा मृत्यु भएको सम्बन्धमा, मनसुनजन्य घटनाको क्षति विवरण तथा सिन्धुपाल्चोक र मनाङ जिल्लामा बाढीपहिरोले पुर्याएको क्षतिका सम्बन्धमा, मिति ०७८ साउन २६ गतेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको सम्बन्धमा र मिति ०७८ साउन २८ गतेको बैठकमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड– १९ को रोकथाम र खोप व्यवस्थापनमा सरकारद्वारा भइरहेको प्रयासका सम्बन्धमा सार्वजनिक महत्वको वक्तव्य दिए।

सुझावित समाचार