अफगानिस्तानमा रहेका नेपालीलाई तुरुन्त स्वदेश फिर्ता ल्याउन एमालेको माग

सोमबार, ३२ साउन, २०७८
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई तुरुन्त स्वदेश फिर्ता गराउन सरकारसमक्ष माग गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयअघि नै बोल्दै एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा भइरहेका राजनीतिक संघर्षका कारण अलपत्र परेका नेपालीहरूलाई तत्काल स्वदेश फर्काउन माग गरे । 

वर्तमान सरकारले अफगानिस्तानमा संकटमा परेका नेपालीलाई आफ्नो देश छ र देशमा सरकार छ भन्ने कुराको अनुभूति गराउन नसकेको पनि उनले बताए। सरकारको नेपालीलाई फर्काइनेछ भन्ने प्रतिबद्धताले नपुग्ने भन्दै उनले त्यहाँ रहेका नागरिक सुरक्षित छन् र सुरक्षित फर्काइनेछ भन्ने प्रतिबद्धतासँगै कार्यान्वयन पनि हुनुपर्ने बताए । उनले भने, ‘त्यहाँ संकटमा परेका नेपालीहरूले आफ्नो देश छ । आफ्नो देशमा सरकार छ । र, त्यहाँबाट हाम्रो सुरक्षाको निम्ति पहलकदमी हुन्छ भन्ने कुरा थाहा पाएनन् । हामी यसप्रकारको गैरजिम्मेवार र अनुत्तरदायी सरकार यो होला भनेर कल्पना गरिरहेका थिएनौँ । त्यहाँ रहेका नागरिकहरूको रक्षा हुनुपर्दछ । तिनको फिर्तीको व्यवस्था मिलाइनुपर्दछ । र, त्यो फेरि कुनै प्रतिबद्धताले पुग्दैन । सरकारले यस विषयमा संसदलाई जानकारी गराउनुपर्दछ । त्यहाँ रहेका नागरिक सुरक्षित छन् र सुरक्षित फर्काइनेछ भन्ने प्रतिबद्धता व्यक्त गर्नुपर्दछ । प्रतिबद्धतासँगै एक्सन गर्नुपर्दछ ।’

सुझावित समाचार