उदयपुर त्रियुगा नगरपालिका–६ मोहनपुरकी १७ वर्षीया किशोरी कृषला चौधरीको हत्या भएको दुई साता बितेको छ । १९ साउनमा उदयपुरको चुरेक्षेत्रको जंगलमा मृत फेला परेकी कृषलाको हत्याको रहस्य प्रहरीले अझै पत्ता लगाउन सकेको छैन ।
मोहनकुमार चौधरीका चार छोरीमध्ये कान्छी कृषला एसइई परीक्षा दिएर रिजल्टको पर्खाइमा थिइन् । तर, उनले एसइईको रिजल्टसमेत सुन्न पाइनन् । कृषलाको बलात्कारपछि हत्या गरेर शवमा एसिड छर्केर चिन्न नसक्ने गरी क्षतविक्षत बनाएको उदयपुरका अधिकारकर्मी र आफन्तहरूले बताएका छन् । प्रहरीले भने घटनाको गहन अनुसन्धान भइरहेको र चाँडै दोषी पत्ता लाग्ने दाबी गरेको छ ।
प्रदेश १ का सांसदले किशोरी चौधरीको हत्यामा संलग्न दोषी पत्ता लगाउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । उदयपुरकी सांसद अम्बिका थापाले आइतबार र सांसद सुनिताकुमारी चौधरीले बिहीबार संसद्मा कृषलाको हत्या आरोपी पक्राउ गर्न ढिलाइ भएको भन्दै संघ र प्रदेश सरकारको चर्को आलोचना गरेका हुन् । उनीहरूले नेपाली चेलीहरू यत्रतत्र मारिन र हिंसा भोग्न बाध्य भइरहेको भन्दै गृहमन्त्रीप्रति आक्रोश व्यक्त गरेका छन् ‘गृहमन्त्रीज्यू के लिंगकै आधारमा नेपाली महिलाले सधैँ अन्याय भोगिरहनुपर्ने हो ?’ आइतबार प्रदेश सभा बैठकको शून्य समयमा सांसद थापाले प्रश्न गरिन् ।
सांसदहरूले प्रदेश सभामा उठाएको प्रश्नको आइतबार जवाफ दिँदै प्रदेश १ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले कृषला मृत्यु घटना सम्बन्धमा प्रहरीले गहन अनुसन्धान गरिरहेको र चाँडै दोषीलाई सार्वजनिक गर्ने तयारी भइरहेको बताए ।