प्रचण्डको राजनीतिक प्रतिवेदन- प्रतिगमनको खतरा अझै टरिसकेको छैन

शनिबार, ३० साउन, २०७८
डिजिटल संस्करण

माओवादी केन्द्रभित्र आगामी पुसको दोस्रो साता पार्टीको राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेस गरिएको छ । शनिबारबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा आगामी पुस ११, १२ र १३ गते पार्टीको राष्ट्रिय अधिवेशन गर्ने प्रस्ताव उल्लेख गरिएको हो ।

पार्टीको सांगठानिक सुदृढीकरण अभियानअन्तर्गत आगामी पुसको ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव अध्यक्ष प्रचण्डको प्रतिवेदनमा उल्लेख गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले भने,‘पार्टीको सांगठनिक सुदृढीकरण अभियानअन्तर्गत पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरिएको छ । केन्द्रीय समितिले त्यसबारे आवश्यक निर्णय लिनेछ ।’

बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा प्रतिगमनप्रतिको खतरा अझै टरिनसकेको भन्दै सचेत रहन पार्टी पंक्तिलाई आह्वान गरिएको छ । संविधानको कार्यान्वयन गर्दै मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सबै कम्युनिस्ट क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरूबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा पनि अध्यक्ष प्रचण्डको प्रतिवेदनमा जोड दिइएको प्रवक्ता श्रेष्ठले बताए । अध्यक्षले पेस गरेको राजनीतिक प्रतिवेदन र विधान संशोधन मस्यौदा प्रस्तावमाथि छलफल गर्न आठवटा समूह निर्माण गरी छलफल सुरु गरिएको पनि माओवादी केन्द्रले जनाएको छ ।

सुझावित समाचार