नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले प्रतिनिधिसभाको बिहीबारको बैठकमा पूर्वप्रधानमन्त्री केपी ओलीमाथि लगाएको आरोपलाई संसद्ले रेकर्डबाट हटाउने भएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार भने, ‘हिजो विशेष समयमा माननीय श्री मातृकाप्रसाद यादवले बोल्ने क्रममा प्रयोग गर्नुभएको ‘मेन्टल्ली, फिजिकल्ली फिट हुनुहुन्न’ भन्ने शब्दहरू प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड (ङ) को प्रतिकूल हुने देखिएकोले उक्त शब्दहरू सचिवालयको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु।’
यादवले बिहीबारको बैठकमा ओलीको मानसिक अवस्थाबारे टिप्पणी गरेका थिए। ओली मानसिक र भौतिक रूपमा पनि ठीक नभएको बताएका थिए। यसबारेमा एमालेले शुक्रबार बैठक सुरु हुनेबित्तिकै विरोध गरेको थियो। बैठकमा विशाल भट्टराईले यादवको टिप्पणी असंसदीय भएको भन्दै संसद्को रेकर्डडबाट हटाउन माग गरेका थिए।