मार्केट पुन्डित क्यापिटल एन्ड मर्चेन्ट बैंकिङमा साउदको बहुमत सेयर भएको चार्टर्ड क्यापिटल एन्ड इन्भेष्टमेन्ट लिमिटेडको लगानी

नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद चार्टर्ड क्यापिटल एन्ड इन्भेष्टमेन्ट लिमिटेडका अतिरिक्त अर्को कम्पनीमार्फत पनि सक्रिय सेयर कारोबार सक्रिय रहेको खुलेको छ । साउदले आफ्नो कम्पनी चार्टर्ड क्यापिटल एन्ड इन्भेष्टमेन्ट लिमिटेडले मार्केट पुन्डित फोर्टफालियो म्यानेजमेन्ट एन्ड एडभाइजरी प्रालिमा समेत लगानी गरेको खुलेको हो । ०७७ मा चार्टर्ड क्यापिटलले मार्केट पुन्डितमा २० लाख रुपैयाँ लगानी गरेको हो ।
मार्केट पुन्डित क्यापिटल एन्ड मर्चेन्ट बैंकिङ लिमिटेड विशेषगरी सेयर बजारमा सक्रिय रूपमा लगानी गरिरहेको र हाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकर (सेयर बिक्री प्रबन्धक, लगानी व्यवस्थापकसमेत हुने गरी) को अनुमति प्रक्रियामा रहेको कम्पनीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । १५ असार ०७५ मा पब्लिक लिमिटेड कम्पनीको रूपमा समेत रहेकोे मार्केट पुन्डित हाल मार्केट पुन्डित क्यापिटल एन्ड मर्चेन्ट बैंकिङ लिमिटेडको रूपमा सञ्चालनमा छ ।
हाल पाँच करोड ६० लाख रुपैयाँ चुक्ता पुँजी रहेको मार्केट पुन्डित फोर्टफोलियो म्यानेजमेन्ट एन्ड एडभाइजरी प्रालिमा ०७७ को विवरणअनुसार साउद आबद्ध चार्टर्ड क्यापिटलको करिब ४ प्रतिशत सेयर लगानी रहेको देखिन्छ । मार्केट पुन्डितको वेबसाइटमै भनिएको छ, ‘हाल मार्केट पुन्डित आफ्नो मुख्य कोषको व्यवस्थापनमा सक्रिय छ र कोषको व्यवस्थापनमार्फत सेयर बजारबाट सक्रिय भएर प्रतिफल प्राप्त गर्न लागेको छ ।’
सिइओ भएपछि साउदको कम्पनीबाट ५ करोडको सेयर किनबेच

साउद नेप्सेको प्रमुख कार्यकारी अधिकृत भएयता उनको कम्पनी चार्टर्ड क्यापिटलले तीन करोड ७६ लाखको सेयर बिक्री गरेको छ भने एक करोड ५५ लाख रुपैयाँको सेयर खरिद गरेको छ । कम्पनीसँग ०७७ मंसिरसम्म ८ करोड तीन लाख रुपैयाँबराबरका सेयर पोर्टफोलियो रहेको देखिएको छ ।
२९ असोज ०७४ मा नेप्सेको प्रमुख कार्यकारी अधिकृत भएका साउदले सो कम्पनीमा आफ्नो संलग्नता नै नरहेको दाबी गरेका भए पनि ०७७ मंसिरसम्मै कम्पनीमा सेयर स्वामित्व रहेको खुलेको हो । ०७७ असारसम्ममा साउदकी श्रीमती सुशीलाकुमारी बोहराको नाममा चार्टर्ड क्यापिटल एन्ड इन्भेष्टमेन्ट लिमिटेडको ७२ हजार कित्ता सेयर रहेको देखिन्छ ।
साउदले ९ भदौ ०७४ मा चार्टर्ड क्यापिटल एन्ड इन्भेष्टमेन्ट लिमिटेडको ६५ हजार सात सय कित्ता अर्थात् ६५ लाख ७ हजार रुपैयाँबराबरको सेयर स्वामित्व लिएका थिए । तर, नेप्से प्रमुखमा नियुक्तिसँगै साउदले आफ्नो स्वामित्व श्रीमती बोहराको नाममा सारेको देखिएको थियो ।
साउद नेप्सेको प्रमुख पदमा रहेकै अवस्थामा उनको श्रीमती बोहरा सञ्चालकसमेत रहेको चार्टर्ड क्यापिटलले ०७७ सालमा समेत थप १५ हजार सात कित्ता सेयर खरिद गरेको पाइएको छ ।