पाकिस्तानमा धार्मिक अल्पसंख्यकमाथि आक्रमण भएकोमा चिन्ता

बिहिबार, २८ साउन, २०७८
डिजिटल संस्करण

पाकिस्तानले सन् १९४७ अगस्ट ११ मा प्रतिबद्धता गरेअनुसार मुलुकभित्र धार्मिक अल्पसंख्यक (हिन्दू)हरूको आधारभूत अधिकार तथा धार्मिक स्वतन्त्रताको सुरक्षा गर्न नसकेको आरोप लागेको छ । पछिल्ला समयमा हिन्दू मन्दिर तोडफोडका घटना बढेसँगै पाकिस्तानी राजनीतिक विश्लेषकहरूले यस्तो टिप्पणी गरेका हुन् । 

चिरपरिचित राजनीतिक विश्लेषक क्वामर रफिकले डेली टाइम्समा उल्लेख गरेअनुसार पाकिस्तान मुलुक बन्ने वेलामा राष्ट्रपिता मोहम्मद अली जिन्नाहले पाकिस्तानलाई विविधतायुक्त समावेशी मुलुक बनाउने घोषणा गरेका थिए । तर, पछिल्लो समयमा त्यहाँभित्र हिन्दू धर्मावलम्बीहरूमाथि न्यायोचित व्यवहार नभएको उनको आरोप छ । 

धार्मिक रूपमा उत्प्रेरित अतिवादीहरू तथा त्यहाँका गैरराज्य पक्षका केही समूहले हिन्दू समुदाय र मठमन्दिरमाथि आक्रमण गरेको क्वामरले उल्लेख गरेका छन् । डेली टाइम्सले लेखेअनुसार पाकिस्तान सरकारले भने घटनाको निन्दा गर्दै दोषीमाथि कारबाही गर्ने बताएको छ । हिन्दू समुदायले भत्किएका मन्दिरमा पूजाआजासमेत गरेका छन् भने विस्थापित हिन्दू परिवारलाई घर फर्काउन लागिएको छ ।

ह्युमेन राइट्स वाचले पनि यस्ता घटनाबारे चासो र चिन्ता व्यक्त गरेको छ । पाकिस्तानमा पछिल्लोपटक एक हजार युवतीलाई जबर्जस्ती धर्मान्तरण गरेर विवाह गराइएको पनि समाचार प्रकाशित भएका थिए । धार्मिक विभेद, जबर्जस्ती धर्मान्तरण तथा अल्पसंख्यक समुदायमाथि भएका आक्रमणका घटनामा सरकारले कारबाही नगरेको भन्दै ह्युमेन राइट्स वाचले चिन्ता व्यक्त गर्दै आएको छ । 
 

सुझावित समाचार