एडिबीले नेपाललाई खोप खरिद गर्न साढे १९ अर्ब सहुलियत ऋण दिने

बिहिबार, २८ साउन, २०७८
डिजिटल संस्करण

६८ लाख जनसंख्या लाभान्वित हुने

एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई कोभिडविरुद्धको खोप खरिद गर्नका लागि साढे १९ अर्ब सहुलियत ऋण दिने भएको छ । कोभिड–१९ विरुद्धको खोप खरिद गर्न नेपाल सरकार र एडिबीबीच बुधबार १९ अर्ब ५८ करोड रुपैयाँबराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको हो ।

बुधबार अर्थ मन्त्रालयमा आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर आनो कुस्वाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यो सहुलियत ऋण सहायताले १ करोड ५९ लाख डोज कोभिडविरुद्धको खोप खरिद गर्ने सरकारको तयारी छ । यसबाट ६८ लाख जनसंख्या लाभान्वित हुनेछन् । कार्यक्रममा अर्थसचिव मरासिनीले नेपाललाई सुरक्षित र प्रभावकारी खोपको उपलब्धताको सुनिश्चितताका लागि एसियाली विकास बैंकको यो सहायता महत्वपूर्ण हुने उल्लेख गरे ।

एडिबीका कन्ट्री डाइरेक्टर कुस्वाले यो सम्झौता कोभिड–१९ को चक्र तोडेर नागरिक जीवनको रक्षा गरी आर्थिक एवं सामाजिक पुनरुत्थानतर्फ अघि बढ्न सहयोगीसिद्ध हुने विश्वास व्यक्त गरे । उनले कोभिड–१९ संक्रमणबाट सार्वजनिक स्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रमा परेको असर व्यवस्थापन गर्न नेपाल सरकारलाई बैंकले पुर्याइरहेको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने आश्वासन दिए ।

See More On

सुझावित समाचार