सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले संविधान त्रुटिपूर्ण रहेको दाबी गर्दै त्यसलाई सच्याउने कामको नेतृत्व कांग्रेस आफैँले गर्नुपर्ने बताएका छन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले आफ्नो ५० वर्षे राजनीतिक इतिहास नै समाप्त पार्ने गरी ललितानिवास प्रकरणको नाममा अख्तियार दुरुपयोग अनुसन्धानले आफूमाथि दुस्मनी साँध्ने काम गर्नु अन्ततः संविधानमा त्रुटि हुनु रहेको बताए ।
बुधबार विश्व आदिवासी दिवसको अवसर पारेर पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याउने आफूमाथि संविधानकै आडमा दुस्मनी साँध्ने काम तत्कालीन राज्यले गरेको भन्दै आक्रोश व्यक्त गरे ।
उपसभापति गच्छदारले भने, ‘तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले जग्गाको लालपुर्जा बाँड्छ ? मोहीको जग्गा छुट्याउने दायित्व मेरो थियो ? त्यो दायित्व भूमिसम्बन्धी मन्त्रालयको होइन र ? तर, राज्यले मलाई तह लगाउने नाममा ललितानिवास जग्गा प्रकरणमा फसायो । मलाई थाहा पनि थिएन सो विषयमा । तर, मलाई तह लगाउने नाममा अख्तियार लगाइयो । मेरो राजनीतिक जीवनलाई समाप्त पार्न खोजियो । यी सब काम संविधान, कानुनको आडमै गरिएको हुनाले यसमा रहेको त्रुटि सच्याउने काम नेपाली कांग्रेसले गर्नुपर्छ । आदिवासी, जनजातिको छोरालाई फसाउने संविधानका ती प्रावधान हटाउनुपर्छ ।’