हुन्डी कारोबारको केन्द्रबिन्दु बन्दै न्युरोड

बुधबार, २७ साउन, २०७८
डिजिटल संस्करण

इन्टरप्राइजेजको आवरणमा वर्षौंदेखि हुन्डी कारोबारमा संलग्न चारजनाबाट दुई करोड बरामद

केही समययता काठमाडौंको न्युरोड हुन्डी कारोबारको केन्द्रबिन्दु बन्दै जान थालेको छ । इन्टरप्राइजेजको आवरणमा वर्षौंदेखि हुन्डी कारोबार गर्दै आएका चारजना पक्राउ परेसँगै यस्तो तथ्य खुलेको हो । पक्राउ पर्नेमा ताहचलका तरुण अग्रवाल, तनहुँ भिमाद–१ का नितेश श्रेष्ठ, रामेछाप देउराली–२ का नरबहादुर खड्का र जोरपाटीका अर्जुन चौलागाई छन् । प्रहरीले उनीहरूबाट झन्डै दुई करोड रुपैयाँ बरामद गरेको छ ।  

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई न्युरोडस्थित गणबहालबाट पक्राउ गरेको हो । उनीहरूले तनुज इन्टरप्राइजेज प्रालिको आवरणमा हुन्डी करोबार गर्दै आएका थिए । इन्टरप्राइजेजका सञ्चालक तरुण हुन् । पक्राउ परेका अन्य उनका कामदार हुन् ।

परिसर प्रमुख एसएसपी अशोक सिंहले इन्टप्राइजेजका नाममा धेरै समयदेखि हुन्डीको कारोबार गर्दै आएको घटनाक्रमबाट पुष्टि हुने बताए । ‘विशेष सूचनाका आधारमा हामीले चारजनालाई पक्राउ गर्यौँ । अनुसन्धानका क्रममा उनीहरूले वर्षौंदेखि हुन्डी कारोबार गर्दै आएको देखिन्छ,’ उनले भने ।

गणबहालस्थित इन्टरप्राइजेजमा छापा मार्दा प्रहरीले घटनास्थलबाट ९१ लाख ९६ हजार रुपैयाँ नगद, ८० लाख ४३ हजार तीन सय १९ रुपैयाँको डिपोजिट स्लिप र ३६ लाख ८३ हजार ४ सय ४८ रुपैयाँ उल्लिखित विभिन्न बैंकका चेक बरामद गरेको छ । हुन्डी गर्ने मुलुक भने खुलिनसकेको परिसर प्रमुख एसएसपी सिंहले बताए । ‘एकपटकको छापामै यति धेरै रकम बरामद भएको छ । इन्टरप्राइजेजको अवस्था हेर्दा यति ठूलो रकमको कारोबार हुने कतैबाट पनि देखिँदैन । हामीले कम्प्युटरदेखि विभिन्न डिभाइस बरामद गरेका छौँ । अनुसन्धानपछि मात्रै हुन्डी गरी रकम पठाउने गरेको मुलुकको बारेमा खुल्छ,’ उनले भने । थप अनुसन्धानका लागि सबैलाई सम्पत्ति शुद्धीकरण विभाग पठाइएको प्रहरीले जानकारी दिएको छ । 

न्युरोडबाट हुन्डी कारोबारी पक्राउको शृंखला
यसअघि प्रहरीले गत १५ माघमा न्युरोडबाट २७ वर्षीया सानुकान्छी मोक्तान, २८ वर्षीय सञ्जय बुढा र २७ वर्षीय नवराज रावललाई पक्राउ गरेको थियो । उनीहरूको साथबाट प्रहरीले स्रोत नखुलेको १६ लाख ५० हजार र ११ लाख ५८ हजार रुपैयाँ २८ लाख ८ हजार रुपैयाँ बरामद भएको थियो । प्रहरीका अनुसार उनीहरू उक्त रकम  इन्द्रचोकस्थित नागरिक कल्याण ऋण तथा बचत सहकारीमा डिपोजिट गराउन लैजाँदै थिए । 

गत ८ माघमै न्युरोडबाटै स्रोत नखुलेको १५ लाख २६ हजार रुपैयाँसहित सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–३ का २४ वर्षीय छेवाङ शेर्पा पक्राउ परेका थिए । त्यसको अघिल्लो दिन अर्थात् ७ माघमा पनि न्युरोडबाटै दोलखा शैलुङ गाउँपालिका–८ का २६ वर्षीय शान्तवीर तामाङ पक्राउ परे । खनतलासी गर्दा उनको साथबाट पनि स्रोत नखुलेको नौ लाख ९० हजार रुपैयाँ बरामद भयो ।

६ पुसमा पनि न्युरोडबाटै स्रोत नखुलेको १३ लाख पाँच हजार रुपैयाँसहित धादिङ खनियाँवास गाउँपालिका–३ का २५ वर्षीय बिर्ज तामाङ पक्राउ परे । ‘न्युरोडमा सहकारी धेरै छन् । सोही सहकारीको अवरणमा पनि हुन्डी कारोबार हुँदै आएका छन् । विगतका घटनाले पनि यसलाई पुष्टि गर्छ । देखाउने अवरण एउटा, तर धन्दा अर्कै गर्नेहरू न्युरोडमा धेरै छन्,’ परिसर प्रमुख एसएसपी सिंहले भने ।

न्युरोडमा मात्रै तीन सय सहकारी
मुलुकभर २९ हजार सात सय ६१ सहकारी सञ्चालनमा छन् । बागमती प्रदेशमा मात्रै १० हजार ४१८ सहकारी छन् । सबैभन्दा धेरै सहकारी काठमाडौंमा दुई हजार पाँच सय ११ छन् । यसको झन्डै १२ प्रतिशत अर्थात् तीन सय सहकारी न्युरोडमै छन् । यति धेरै सहकारी न्युरोडमै खोलिनु र आर्थिक कारोबार पनि अर्बौंको देखिनु सन्देहपूर्ण देखिन्छ । सहकारी विभागका उपरजिस्ट्रार चोमेन्द्र न्यौपानेसमेत न्युरोडका केही सहकारीको धन्दा सन्देहपूर्ण देखिने स्वीकार गर्छन् ।

See More On

सुझावित समाचार