तृणमूल कंग्रेसकी सांसद महुवा मोइत्राको पहिलो संसद् भाषणले सरकारलाई तरंगित पारिदिएको थियो । भाषणमा राजनीतिमा निकै अप्रिय र असहज मानिने ‘फासीवाद’ शब्दको प्रयोग गरेकी थिइन् उनले । उनले ‘मुलुकमा फासीवादका सबै सुरुवाती लक्षण देखिँदै छन्’ भनेर टिप्पणी गरेकी थिइन् । आखिर के हो त फासीवाद ? परिभाषित गर्नु चुनौतीपूर्ण काम हो । केही विद्वान् फासीवाद शब्द बेनिट्टो मुसोलिनीले चलाएको सरकारका लागि मात्रै प्रयोग गर्नुपर्छ भन्छन् भने केहीले सबै किसिमका सर्वसत्तावादी सरकारलाई पनि फासीवादी भन्छन् । यद्यपि, राजनीतिक इतिहास र दर्शनशास्त्रका विद्वान् फासीवादका केही गुणमा मोटामोटी सहमति जनाउँछन् । उग्र–राष्ट्रवाद, मिथकीय इतिहास, विशिष्ट नेता, सत्यको पुनः परिभाषा, बौद्धिकतामाथि आक्रमण आदि त्यस्ता गुण हुन् ।
येल विश्वविद्यालयका दर्शनशास्त्रका प्राध्यापक जेसन स्टेन्ली आफ्नो पुस्तक ‘हाउ फासिज्म वक्र्स’मा जातीय, धार्मिक वा सांस्कृतिक उग्र–राष्ट्रवादलाई फासीवाद भनेर परिभाषित गर्छन्, जहाँ मुलुकको प्रतिनिधित्व गर्ने नेता सर्वसत्तावादी हुन्छ र आफूलाई उग्र–राष्ट्रवादको प्रखर हिमायती देखाउँछ । सम्भवतः यसलाई उत्कृष्ट परिभाषा मान्न सकिन्छ ।
फासीवादमा सबैभन्दा ठूलो राष्ट्रिय पहिचान हो भन्ने बनाइन्छ । राष्ट्रवादले हामीलाई हाम्रो राष्ट्र पृथक् छ र राष्ट्रप्रति हाम्रा दायित्व छन् भन्ने सिकाउँछ भने फासीवादले हाम्रो राष्ट्र सबैभन्दा ‘उत्कृष्ट’ छ र राष्ट्रप्रति हाम्रा दायित्व ‘विशेष’ छन् भन्ने सिकाउँछ । सरकारका सदस्यले लगातार चर्को राष्ट्रवादी अभिव्यक्ति दिइरहेका छन् भने त्यो फासीवाद आगमनको लक्षण हो । युभल नोह हरारीले भनेजस्तै फासीवादले मानिसलाई असल एवं खराब, भित्रिया एवं बाहिरिया र राष्ट्रवादी एवं राष्ट्रद्रोही भनेर द्वैततामा मात्र हेर्न सिकाउँछ ।
जातीय/नश्लीय/धार्मिक शुद्धता भएको काल्पनिक समयलाई इंगित गरेर हाम्रो इतिहास सुनौलो थियो र यसलाई बाहिरिया आक्रमणकारी वा भित्रिया भ्रष्टले दर्दनाक रूपमा नामेट गरे भन्ने बुझाइबाट नै फासीवादी भाष्यको निर्माण हुने गरेको छ । फासीवादी सरकारहरू ‘महान्’ इतिहास ब्युँताउने उद्घोष गरेर सत्तामा पुग्छन् । यी महान् इतिहास मूलतः पदानुक्रमित एवं पितृसत्तात्मक हुन्छन्, जहाँ बलिष्ठ एवं वीर पुरुषले परिश्रम गर्छन् र युद्ध लड्छन् भने सुशील महिला घरमा बस्छिन् र वंश बढाउँछिन् । १९९२ को नेपल्समा भएको फासिस्ट कांग्रेसमा मुसोलिनीले ‘महान्’ इतिहासको निर्माण हुन्छ र ‘यो सत्य हुनु जरुरी छैन’ भनेर स्विकारेकै हुन् । यी मिथकीय ‘महान्’ इतिहासले अहिलेको फासीवादी उद्देश्यलाई जीवन्त बनाउन चाहिने भावना र काल्पनिक सम्झनाको निर्माण गर्छ ।
नेता राष्ट्रको ‘पिता’ बनेपछि सन्तान र श्रीमतीमाथि पिता या पतिको नैतिक शक्ति अभ्यासझैँ राष्ट्रको ‘पिता’को शक्ति र सामथ्र्य वैधानिक कानुनको स्रोत बन्न पुग्छ र फासीवाद मौलाउँछ
हरेक फासीवादी सरकारको केन्द्रमा एक विशिष्ट वा महान् नेता हुन्छ, जसले परिवारको शक्तिशाली पुरुष पिता वा हर्ताकर्ताको छनक दिन्छ । यसो हुनु अस्वाभाविक होइन । स्टेन्लीका अनुसार जहाँ राष्ट्रको नेतालाई परम्परागत पितृसत्तात्मक परिवारको हर्ताकर्ता पुरुषसँग दाँजिन्छ, त्यहाँ फासीवादलाई निकै बलियो गरी प्रोत्साहन गरिन्छ । नेता राष्ट्रको ‘पिता’ बन्छ । सन्तान र श्रीमतीमाथि पिता या पतिको नैतिक शक्ति अभ्यासझैँ राष्ट्रको ‘पिता’को शक्ति र सामथ्र्य वैधानिक कानुनको स्रोत बन्न पुग्छ ।
राष्ट्रको हर्ताकर्ताले परम्परागत घरकै पिताजसरी हानि–नोक्सानीबाट जोगाउँछ । यस्तो प्रतिनिधित्वले फासीवादी सरकारलाई पदानुक्रमवादी, सर्वसत्तावादी र असमतामूलक राज्य बनाउन सहयोग गर्छ । फासीवादीहरू भित्रियालाई बाहिरियाबाट खतरा देखाएर सत्तामा पुग्छन् । बाहिरिया भनिएको समुदाय जतिसुकै कमजोर र अल्पसंख्यक नै किन नहून्, फासीवादी नेताले बाहिरियाबाट खतरा देखाएर भित्रियाको एक मात्र रक्षकका रूपमा आफूलाई प्रस्तुत गर्छ । इतिहासको मिथ्याकरण गरेपछि फासीवादी राज्यले वर्तमान सत्यलाई पुनः परिभाषित गर्न यथेष्ट प्रयास गर्छ । लोकतान्त्रिक संस्थालाई कम विश्वसनीय बनाएर महान् नेतालाई नै सत्यको मूर्ति बनाइन्छ । अर्थात् फासीवादी राज्यको उद्देश्य भनेकै ‘महान् नेता’लाई सत्यको एक मात्र स्रोत बनाउनु पनि हो ।
त्यही भएर फासीवादको चपेटामा परेको मुलुकमा ‘महान् नेता’को अनुहार सर्वत्र देख्न सकिन्छ । लोकलाई रिझाउन्जेलसम्म एक ‘महान् नेता’ले सत्य वा झुट जे बोले पनि फरक पर्दैन । मिथकीय इतिहास र प्रोपगान्डाको बुई चढेर बनेको सरकारले आलोचनात्मक चेतना उत्पादन गर्ने विश्वविद्यालय र अन्य संस्थालाई आक्रमण गर्नु अनौठो होइन । फासीवादी सरकारले स्वतन्त्र र खुला विचारको विश्वसनीयता समाप्त पारी चाटुकार र चाकर संस्थालाई स्थापित गर्न ठूलै बल लगाउँछ ।
फासीवादले विज्ञताको खिसिट्युरी र अवमूल्यन गर्छ । उसो त एक उदार लोकतन्त्रमा नेताहरू विज्ञ र वैज्ञानिकको सल्लाहलाई महत्वसाथ लिन्छ भने फासीवादी नेता आफूलाई ‘काम गर्ने नेता’का रूपमा चिनाउँछ, जहाँ सल्लाह र सुझाबलाई महत्व दिइँदैन । हरारीले भनेझैँ फासीवादीहरू हाम्रा इमेल र फोन त्यति ह्याक गर्दैनन्, जति हाम्रा डर, घृणा र दम्भको भावनालाई ह्याक गर्छन् । नतिजा हामीलाई नै ध्रुवीकृत गरिन्छ र लोकतन्त्र मासिन्छ । फासीवादको यो कालो कर्तुतबारे जान्नु र त्यसविरुद्ध शिक्षा, आलोचनात्मक चेतना, समावेशिता र सहिष्णुताका मूल्य–मान्यता बोकेर अगाडि आउनु नै फासीवादलाई रोक्ने अस्त्र हो ।
(कुमार पोजिटिभ साइकोलोजी एवं साइकोमेट्रिक्सका अध्येता हुन्) द वायरबाट