पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अवधि एक वर्षका लागि थप गरिएको छ । कोभिड– १९ संक्रमणका कारण समयमा विमानस्थल निर्माणको काम सम्पन्न गर्न नसकिएपछि एक वर्षका लागि समय थप भएको विमानस्थल आयोजनाका प्रमुख विनेश मुनकर्मीले जानकारी दिए । सुरुमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयभन्दा ६ महिना अगाडि नै सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम गरिएको थियो । २०२१ जुलाई १० मा सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोेभिड– १९ का कारण समयमै निर्माणकार्य सम्पन्न गर्ने सम्झौता भए पनि त्यसको ६ महिना अगाडि नै काम सक्ने र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको हो ।
कोरोना संक्रमणका कारण चिनियाँ मजदुर फर्कन नपाएका, नेपाली मजदुहरू समेत सुरुमा त्रासका कारण काममा रहन नसकेका र बाहिरबाट ल्याउनुपर्ने इक्युपमेन्ट समयमा ल्याउन नसक्दा तोकिएको समयमा विमानस्थल निर्माणको काम सम्पन्न हुन नसकेको हो । अब २०२२ को जुलाई १० सम्म समय थप गरिएको आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए । उनका अनुसार विमानस्थल निर्माणको ८१ प्रतिशत काम सकिएको छ । काम फटाफट गर्न पाए अबको ६ महिनामै विमानस्थल निर्माणको काम सकिने अवस्था रहे पनि सञ्चालनमा ल्याउन केही अप्ठ्यारा रहेको प्रमुख मुनकर्मीले औँल्याएका छन् ।
विमानस्थल पूर्वमा रहेको रिट्ठेपानी डाँडा कटानको काम ठोस रूपमा अगाडि बढ्न सकेको छैन । उक्त डाँडामा रहेको निजी जग्गा कटान गरेको भए पनि वनको क्षेत्र रहेकाले रूख काट्ने अनुमति प्राप्त नभएको उनले जानकारी दिए । सरकार वन क्षेत्रमा सीमांकन र स्टमेटको काम भए पनि इआइए नगरिएकाले समस्या छ । तत्कालीन पर्यटनमन्त्री भनुभक्त ढकालका पालामा इआइए गर्न समय लाग्ने भन्दै सरकारले विशेष व्यवस्था गरेर छिटो प्रक्रिया टुंग्याउने भनिए पनि त्यस सम्बन्धमा काम अगाडि नबढ्दा डाँडा कटानमा अलमल भएको आयोजना प्रमुख मुनकर्मी बताउँछन् । उनका अनुसार उक्त क्षेत्रमा ६ सय रूख काट्नुपर्नेछ । पोखरा क्षेत्रीय विमानस्थललाई आइकाओ मापदण्डअनुरूपको बनाउन उक्त डाँडालाई ४० मिटर काट्नैपर्छ ।
सात सय कामदारले काम गरिरहेकोमा अहिले चार सय कामदार
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ र नेपाली गरी अहिले चार सयको हाराहारीमा कामदार खटिएका छन् । चार सयमध्ये एक सय ७० जना चाइनिज कामदार हुन् भने बाँकी नेपाली कामदार हुन् । कोरोना संक्रमणअगाडि दैनिक सात सयजना कामदारले काम गर्ने भए पनि त्यो संख्या घटेको हो ।
चीनको सिएएमसी इन्जिनियरिङ कम्पनीले निर्माणकार्यको जिम्मा पाएको सो विमानस्थल कुल २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा सन् २०१७ को नोभेम्बर महिनादेखि सुरु भएको र सन् २०२१ जुलाई १० सम्म सक्ने गरी सम्झौता भएको थियो ।
आयोजनका इन्जिनियर मीनराज ओझाका अनुसार विमानस्थलमा अहिले फिनिसिङ, लाइट हाल्ने, इलेक्ट्रिफिकेसन, इक्युपमेन्ट जडान, पाइपलाइन बिच्छ्याउने तथा भित्री सडकका काम भइरहेका छन् । उनले हालसम्म रन वे, ट्याक्सी पार्किङ, टर्मिनल भवन, एप्रोन, टावर, नाला निर्माण, ह्याङरसँगै रनवे लाइट, ट्याक्सी लाइट, एप्रोज लाइटलगायत १४ वटा संरचनाको फिनिसिङ कार्य भइरहेको जानकारी दिए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार ६ सय स्क्वायर मिटरमा बन्नेछ । आठ हजार ६ सय स्क्वायर मिटर अन्तर्राष्ट्रिय उडानका लागि र ६ हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि गरी १४ हजार ६ सय स्क्वायर मिटरको टर्मिनल भवन निर्माण हुन लागेको हो ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सिं. ०३२ देखि अधिग्रहण गर्ने कार्य सुरु भएको र जम्मा तीन हजार एक सय ६ रोपनी जग्गाको मुआब्जा दिई अधिग्रहण गरिएको थियो । त्यससँग आउटर पेरिफेरि रोड, ग्लाइड पथ, एप्रोज लाइट, मिटरोलोजिकल र्याडर, घर स्टेसनको लागि जग्गा र घरटहरा अधिग्रहण कार्य भएको छ ।
ल्यान्डफिलसाइट स्थानान्तरण नहुँदा बर्ड ह्याजर्डको सम्भावना
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अवधि एक वर्ष थप भए पनि निर्माणको कार्य सन्तोषजनक रूपमा अगाडि बढेको छ । कोरोना संक्रमण नभएको भए यतिवेला विमानस्थलभित्रका सबै पूर्वाधार तयार भइसकेका हुने थिए । तर, विमानस्थलभित्रका सञ्चालन र निर्माणकार्य पूरा भइहाले पनि विमानस्थल निर्माणपछि सञ्चालनमा केही समस्या आउन सक्ने देखिएको छ । पोखरा महानगरपालिकाले विमानस्थल निर्माण सम्पन्न हुनुअगाडि नै ल्यान्डफिलसाइट अन्यत्र सारिसक्नुपर्नेमा अहिलेसम्म त्यसमा तदारुकता देखाएको छैन ।
ल्यान्डफिलसाइटकै कारण फोहोर खाने चराको ओहोरदोहोरका कारण बर्ड ह्याजर्डको समस्या आउन सक्ने आयोजना प्रमुख मुनकर्मी बताउँछन् । निर्माण आयोजनाको तर्फबाट महानगरलाई पटकपटक यस सम्बन्धमा ध्यानाकर्षण गराएको भए पनि महानगरले सुनुवाइ नगरेको उनको गुनासो छ । चराविज्ञलाई उद्धृत गर्र्दै उनले चराको बानी परिवर्तन गर्न नै ६ महिना लाग्ने भए पनि अहिलेसम्म ल्यान्डफिलसाइटको स्थानान्तरणको प्रक्रिया नथालिँदा समस्या छ ।
विमानस्थलको बाहिरी भागबाट पानीको उचित निकास नहुँदा विमानस्थल निर्माण भएर सञ्चालनमा अर्को समस्या रहेको प्रमुख मुनकर्मी औँल्याउँछन् । उनका अनुसार विमानस्थलबाहिर वर्षातको समयमा बग्ने पानी, भित्री सडक र पृथ्वी राजमार्गको नालाबाट र सिँचाइ नहरबाट बगेर आउने पानीको कारण विमानस्थलको पूर्वीभागमा बाढी–पहिरोको समस्या उत्पन्न भएको छ । यसको निकासका लागि सिँचाइ कार्यालयलाई गुहारिएको उनले जानकारी दिए ।