दार्चुला घटना : छानबिन टोली धामीको घरमा, दोषी एसएसबीलाई कारबाही र क्षतिपूर्ति दिन परिवारको माग

शनिबार, २३ साउन, २०७८
डिजिटल संस्करण
दार्चुला घटना : छानबिन टोली धामीको घरमा, दोषी एसएसबीलाई कारबाही र क्षतिपूर्ति दिन परिवारको माग

दार्चुला सदरमुकाम खलंगाबाट सेनाको हेलिकोप्टरमा व्याँस गाउँपालिका–२ मालगाउँस्थित जयसिंह धामीको घर जाँदै सरकारी छानबिन टोली

एसएसबीले तुइनको डोरी फुकाइदिएपछि जयसिंह धामी बेपत्ता भएको घटना छानबिन गर्न बनाइएको सरकारी टोली शुक्रबार हेलिकोप्टरमा व्याँस गाउँपालिका– २ मालगाउँ गएको छ । टोलीले तुइन राखिएको नेपालपट्टिको भाग अवलोकन गर्नुका साथै पीडित परिवारसँग भेट गरेको छ । 

टोलीले घरमै आएर पारिवारिक अवस्थादेखि वारिपारि (नेपाल–भारत)को सम्बन्धलगायत विषयमा जिज्ञासा राखेको बेपत्ता जयसिंहका भाइ नरेन्द्रसिंह धामीले बताए । ‘सरकारी टोली घरमै आएर सोधपुछ गर्दा हामीलाई पनि अनुसन्धान राम्रो गर्लान् कि भन्ने आशा पलाएको छ,’ उनले भने । 

सरकारी टोली घरमा पुग्दा पीडित परिवारमा रुवाबासी चलेको थियो । बेपत्ता जयसिंहकी पत्नी राजन्ती भक्कानिएकी थिइन् । उनीहरूले दोषीमाथि कडा कारबाही हुनुपर्ने र आफूहरूले न्याय पाउने माग राखेका छन् । ‘भाउजूले श्रीमान्लाई महाकालीमा बेपत्ता बनाउने एसएसबीमाथि कडा कारबाही हुनुपर्छ भनेर भन्नुभयो । नाबालक छोराछोरीको पालनपोषण र शिक्षादीक्षाबारे पनि उहाँले चिन्ता व्यक्त गर्नुभयो,’ नरेन्द्रसिंहले भने । 

जयसिंह बेपत्ता भएको चार–पाँच दिनसम्म केही नखाएकी राजन्ती अहिले थोरै खान थालेकी छिन् । घरमा सान्त्वना दिन छिमेकी र इष्टमित्र आउने क्रम जारी छ । ‘मान्छे देख्नेबित्तिकै रोइहाल्छिन्,’ बेपत्ता जयसिंहका दाइ हरकसिंह धामीले भने ।

मालगाउँ पुगेको सरकारी टोली दुई समूहमा बाँडिएको थियो । समितिका संयोजक सहसचिव जनार्दन गौतम र नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेशका एआइजी पुरुषोत्तम कँडेलले जयसिंहको घर पुगेर परिवारसँग भेटघाट गरेका थिए । त्यस्तै, समितिका सदस्य राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्रका एसएसपी सुरेशकुमार श्रेष्ठको टोलीले घटनास्थलको निरीक्षण गरेको थियो । समितिकी सदस्य एवं दार्चुलाका सहायक सिडिओ ज्योत्सना भट्ट जोशी भने हेलिकोप्टरमा ठाउँ नभएपछि मालगाउँ जान सकिनन् । 

टोलीले बिहीबार एसएसबीको सुरक्षामा भारतपट्टि तुइन लगाएको ठाउँको निरीक्षण गरेको थियो । सरकारी टोली भारतपट्टि निरीक्षण गरिरहँदा नेपालपट्टि पीडितको कुरा सुन्न गाउँमै आउन माग गर्दै स्थानीयले नाराबाजी गरेका थिए । त्यसअघि छानबिन टोलीले घटनाका प्रत्यक्षदर्शी कल्यानसिंह धामी, विक्रम रंकोली र अनिता धामीसँग सदरमुकाम खलंगामै बयान लिएको थियो । गत १५ साउनमा खलंगा आउने क्रममा तुइन तर्दै गर्दा एसएसबीले डोरी फुकाइदिँदा जयसिंह धामी महाकालीमा बेपत्ता भएका थिए । 

पीडित परिवारलाई आर्थिक सहयोग 
बेपत्ता जयसिंह धामीको परिवारलाई शुक्रबारसम्म विभिन्न निकाय र व्यक्तिबाट ४१ हजार रुपैयाँ आर्थिक सहयोग भएको छ । शुक्रबार सरकारी छानबिन टोलीका संयोजक सहसचिव जनार्दन गौतमले पीडित परिवारलाई १० हजार सहयोग गरेका छन् । त्यस्तै, व्याँस गाउँपालिकाले २५ हजार, विप्लव नेतृत्वको नेकपा माओवादीका जिल्ला सचिव भरत मल्लले पाँच हजार र सशस्त्र प्रहरीका नरेन्द्र बडालले एक हजार सहयोग गरेका छन् । बेपत्ता धामीका एक छोरा, एक छोरी र श्रीमती छन् ।

एसएसबीविरुद्ध नबोल्न प्रत्यक्षदर्शी कल्यानसिंह धामीलाई धम्की : ‘अब भारतको बाटो हिँड्ने कि नहिँड्ने ? त्यो दिन एसएसबीलाई गस्ती आएको देखेकै छैन भन्नू’ 

घटना भएको दिनदेखि फोन आएर झन् धेरै तनाव भएको छ । दिमागले काम नगर्ने, सोच्नै नसकिने भएको छु । हिजो (बिहीबार) खलंगाबाट बयान दिएर घर फर्केपछि त मोबाइल नै अफ गरेँ । गएको वैशाखमा मैले महाकालीमा तुइन लगाएको २१ वर्ष भयो । तुइनका तार पनि वैशाखमा फेरेको थिएँ । चारपाने फलामे लट्ठामा दुई–चार क्विन्टल सामान वारपार गर्दा पनि केही हुँदैन, तार बलियो हुन्छ । भारतपट्टि टुडीको रूखमा र वारि नेपालतिर काठको बलियो खाँबोमा डोरी बाँधिएको थियो ।

घटना भएको दिन १५ साउनको बिहान सुरुमा चारजना तुइन तरेका थिए । तरिसकेपछि माथि बाटोमा पुग्न थोरै उकालो हिँड्नपर्छ । उनीहरू माथि उकालो काट्दै थिए, त्यहाँबाट तल तुइन तर्ने ठाउँ देखिँदैन । वारि जयसिंह धामी, विक्रम रंकोली र अनिता धामी गरी तीनजना तर्न बाँकी थिए । त्यहीवेला एसएसबीका दुई जवान माथि बाटोबाट तल तुइन बाँधिएको ठाउँतिर आउँदै गरेको देख्यौँ । उनीहरू तुइनको डोरी चुँडाल्न आएको हाम्रो अनुमान थियो । त्यसैले वारिबाट ‘एकछिन नफुइदिनुस्, फुकाल्ने नै भए पनि तीनजना तरेपछि फुकालिदिनुहोला’ भनेर आग्रह गर्यौँ । 

एसएसबीको एक जवान तुइन बाँधिएको रूखभन्दा माथि नै थियो, अर्को तल आयो । जयसिंह त्यही वेला तुइन तरे । ‘पारि गएर म एसएसबीलाई आग्रह गर्छु’ भनेको थियो उसले । तर, ऊ तुइन तर्न थालेपछि एसएसबीको जवानले रूखमा बेरिएको डोरीमा हात लगाउन थाल्यो । जयसिंह पारि पुग्न एक–डेढ मिटर बाँकी छँदै डोरी फुकालिदियो । आँखैअगाडि जयसिंह महाकालीमा खसे र बेपत्ता भए । नदीमा भारततिरको नदीमा खसेका कारण उनलाई बचाउन हामीले केही गर्न सक्ने अवस्था पनि थिएन । 

जयसिंह बेपत्ता हुनुमा एसएसबीको दोष छ, यो कुरा म सुरुदेखि नै भनिरहेको छु । हिजो (बिहीबार) छानबिन समितिको बयानमा पनि त्यही भनेको छु । हामी तीनैजना प्रत्यक्षदर्शीको लगभग एउटै बयान छ । आँखाले देखेको एसएसबीको गल्तीलाई किन छुपाउने ? 

तुइनको डोरी फुकाउने एसएसबीका आफन्तहरूले फोन गरेर धम्की दिइरहेका छन् । ‘अब भारतीय बाटो कहिल्यै नहिँड्ने हो ? कि हिँड्ने हो’ भनेर उनीहरू पारिबाट फोन गरिरहेका छन् । एसएसबीलाई बचाउन निरन्तर फोनमार्फत धम्की आउन थालेपछि मोबाइल नै बन्द गर्ने गरेको छु । यसरी धम्की दिने एसएसबीका आफन्त हुन्, कोही–कोही हाम्रो पनि आफन्त पर्छन् । उनीहरूले ‘एसएसबीलाई बचाइदिनुपर्यो, त्यो दिन हामीले उनीहरूलाई गस्ती आएको देखेकै छैन’ भनेर बयान देऊ भन्छन् । तर, उनीहरूले धम्की दियो भन्दैमा म कुरो फेर्दिनँ । जे देखेको हुँ, सुरुदेखि त्यही बोल्दै आएको छु । छानबिन समितिलाई पनि त्यही बयान दिएँ । 

बरु भारतको बाटो नहिँडौँला, नेपालबाटै हिँडौँला । मर्नुपरे पनि बाँच्नुपरे पनि आफ्नो भूमि छँदै छ । आफ्नै आँखाअगाडि देखेको कुरालाई कसरी परिवर्तन गरूँ ? तुइनको तार काटिएको होइन, फुकालेको हो, हामीले बयानमा पनि भनेका छौँ । गत सोमबार बयानका लागि सदरमुकाम खलंगा लैजाँदा प्रहरी प्रशासनबाट कुनै दबाब महसुस भएन । सुरक्षित र एकान्त ठाउँमा राखे । जिल्ला प्रशासन कार्यालयमा तीनैजनालाई छुट्टाछुट्टै बोलाएर बयान लिए । हिजो घर पठाए । 

सुझावित समाचार