माधव समूहको निर्णय : दशबुँदे सहमतिको आधारमा एकतामै प्रयास गर्ने, अधिवेशन र सदस्यता नवीकरण रोक्न माग

शुक्रबार, २२ साउन, २०७८
डिजिटल संस्करण

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी विवाद समाधानका लागि भएको दशबुँदे सहमतिलाई आधार बनाएर एकताको प्रयासलाई निरन्तरता दिने निर्णय गरेको छ । 

‘दशबुँदे सहमतिले एकताको आधार निर्माण गरेको छ, थप आधार बनाउनका लागि वार्ता भइरहेकाले पार्टीलाई एकताबद्ध बनाउन सजगताका साथ अघि बढ्ने निर्णय गरेको छ,’ बैठकपछि स्थायी समिति सदस्य रघुजी पन्तले भने, ‘यसका लागि थप छलफल र निर्णय गर्ने जिम्मेवारी स्थायी समितिलाई दिएको छ ।’ 

उनले एमाले प्रमुख प्रतिपक्षीको भूमिकामा रहेकाले सरकारमा जाने विषयमा कुनै छलफल नभएको बताए । ‘हामी सत्ता पक्ष होइनौँ, तपाईंहरूले राम्रोसँग बुझ्नुस्, प्रतिपक्षमा छौँ,’ पन्तले भने, ‘त्यसैले बैठकमा सरकारका बारेमा कुनै छलफल भएको छैन ।’

नेपाल समूहको बैठकले एकताको प्रयास चलिरहेका वेला संस्थापन पक्षले महाधिवेशनलक्षित गर्दै गतिविधि गरेको भन्दै रोक्न ध्यानाकर्षणसमेत गरेको छ । ‘त्यस्ता कामले एकतालाई भाँजो हाल्छ, त्यसकारण सम्बन्धित पक्षलाई रोक्न ध्यानाकर्षण गराएका छौँ,’ पन्तले भने ।

सुझावित समाचार