एक सातामा कालीगण्डकीमा तीनजना बेपत्ता

बुधबार, २० साउन, २०७८
डिजिटल संस्करण

बागलुङमा एक साताको अवधिमा कालीगण्डकी नदीमा डुबेर तीनजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गत बिहीबार बागलुङ नगरपालिका–१ निरयघाटमा पौडी खेल्न गएका दुई युवा बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा बागलुङ नगरपालिका–४ का १३ वर्षीय अभिषेक बिक र सोही ठाउँका १३ वर्षीय यमबहादुर पुन छन् । 

चारजना पौडी खेल्न गएकामा दुईजनालाई कालीगण्डकीले बगाएको थियो । प्रहरीले उनीहरूको खोजीकार्य जारी रहेको बताएको छ । खोजीकार्यका लागि विपत् व्यवस्थापन गुल्मका सात प्रहरी, जिल्ला प्रहरी कार्यालयका सात सुरक्षाकर्मी खटिएका छन् । कालीगण्डकीको बहाव बढेकाले खोजीकार्यमा समस्या भएको प्रहरीले जनाएको छ ।

सोमबार एक महिला निरयघाटबाटै कालीगण्डकीमा हामफालेकी थिइन् । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीका अनुसार बागलुङ नगरपालिका– ९ तित्याङकी ५० वर्षीया टीका थापा बेपत्ता भएकी हुन् । ती महिलाले मानसिक रोगको औषधि सेवन गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ । उनले लगाएको चप्पल नदी किनारामा भेटिएको छ । 

मंगलबार काठेखोला गाउँपालिकामा–७ रेशमा पौडी खेल्ने क्रममा २० वर्षीया युवतीको ज्यान गएको छ । घरनजिकैको खोलामा पौडी खेल्दा डुबेर स्थानीय मनकुमारी कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयले खोलामा डुबेको अवस्थामा उनको शव फेला पारेका थिए । मृतक स्थानीय भीमसेन माविमा कक्षा १२ मा अध्ययनरत छात्रा हुन् । 

See More On

सुझावित समाचार